Logo

हिलाम्मे सडकमा धान रोप्दै धान दिवस, ‘अर्को वर्ष बाटो बन्नुपर्यो’

काठमाडौं– शनिबार देशैभरि धान दिवस मनाइयो । धान दिवसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि शीर्ष नेताहरुले धान रोपे ।

यसैबीचमा सामाजिक सञ्जालकै एक प्रयोगकर्ताले सडकमा धान रोपेकी छिन् । पक्की सडकको बीचमा परेको खाल्डो र त्यहाँ जमेको पानीमा आशिका तामाङले धान रोपेकी हुन् । पृथ्वी राजमार्गअन्तर्गत पर्ने धादिङको धुनिबेशी नगरपालिका वडा नं ७ नौबिसेको चोकमा उनले धान रोपेकी छिन् । भिडियोमा उनले व्याङ्त्मक तरिकाले असारे गीत गाउँदै धान रोपिरहेको देख्न सकिन्छ ।

कुनैपनि सरकारले सडकको मर्मतमा ध्यान नपुर्याएको भन्दै उनले धान रोप्दै विरोध गरेकी छिन् । वषौँदेखि उक्त सडकमा हिलो हुनेगरेको बताउँदै उनले भनेकी छिन्, ‘पचास मुरी नै धान फल्छ कि क्या हो ।’

अर्को वर्ष उक्त सडक बनिसक्नुपर्ने माग उनले भिडियोमार्फत नै राखेकी छिन् । यो वर्षको असारसम बन्न पनि बाटो नबनेको भन्दै एक हप्ताभित्रै बाटो मर्मत गर्न सम्बन्धीत निकायले पहल गर्नुपर्ने समेत उनले बताएकी छिन् । उनले भिडियोमा भनेकी छिन्, ‘अब यहाँका मेयर, उपमेयर र वडाध्यक्ष निदायर बसेर भएन । बाटो पिच हुनप¥यो ।’ उनको उक्त कदमलाई धेरैले समर्थन गरेका छन् । धान रोपेर सम्बन्धीत निकायको ध्यानाकर्षण गराएको र बाटो छिट्टै पिच हुनुपर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस्