Logo

पशुचौपायामा भ्यागुते रोगको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं– नेपाल कृषि अनुसन्धान परिषद्ले गाई गोरु र भैँसीहरूमा भ्यागुते रोग देखा पर्न सक्ने अनुमान गरेको छ । यो सातामा देशभर नै पानी पर्ने सम्भावना रहेकाले गाई गोरु र भैँसीहरूमा भ्यागुते रोग देखा पर्ने परिषद्ले कृषि–मौसम सल्लाह बुलेटिन मार्फत जनाएको हो ।

सो रोगबाट पशुवस्तुलाई जोगाउन प्राविधिकको सल्लाह अनुसार सल्फोनामाईड, टेट्रासाइक्लिन, पेनिसिलिन, जेन्टामाइसिन, सिप्रोफ्लोक्सासिन समूहका औषधी प्रयोग गर्न आग्रह गरिएको छ ।

साताभरलाई कृषिमौसम सल्लाह बुलेटिन यस्तो छ

  • साताभरि नै देशैभर मनसुन सक्रिय रहने सम्भावना रहेकोले भित्र्याउने अवस्थाको चैते धानबाली काटेर खेतमा नछोड्नुहोस् ।
  • वर्षे धानवालीबाट राम्रो उत्पादन लिन आफूले लगाउन चाहेको ठाउँ अनुसार सिफारिस गरिएका धानका उन्नत जातहरूको बीउ उपचार गरी ब्याड राख्नुहोस् ।
    मनसुनको समयमा बालीहरुमा विषादीको प्रयोग सकेसम्म नगर्नुहोस् । अति आवश्यक परेमा पानी नपरेको समयमा स्टिकर मिसाएर मात्र छर्कनुहोस् ।
  • आँपको रुटस्टक तयारी अवस्थामा छ भने इपिकोटायल ग्राफ्टिङ्ग शुरु गर्नुहोस् ।
    स्याउ, ओखर, आरु, आरुबखडा, खुर्पानी, नासपाती, सुन्तला, जुनार, कागती आदि फलफूलहरूको नर्सरीको नियमित अनुगमन गरी सकरहरूलाई समयमा नै हटाउनुहोस् ।
  • स्याउको बोटमा लाग्ने टेन्ट क्याटरपिलर कीराको लागि अनुकूल मौसम भएकोले यसको व्यवस्थापनको लागि टेन्ट समेतको हाँगालाई काटेर जलाउनुहोस्।
    कीराको प्रकोप बढी भएमा क्लोरानट्रानिलिप्रोल १८.५ प्रतिशत एससी वा स्पिनोसाड ४५४ एस. सी १ एम एल प्रति ३ लिटर पानीमा मिसाएर छर्कनुहोस्।
  • खुर्सानीको बोट ओइलाउने रोग व्यवस्थापनको लागि कपरयुक्त विषादी (जस्तैः ब्लाईटोक्स, ५०प्रतिशत , धनुकोप) वा क्रिल्याक्सिल २ ग्राम प्रति लिटर पानीमा
    मिसाई १०–१२ दिनको फरकमा २–३ पटक जरा र वरिपरिको माटो भिज्नेगरि ड्रेन्चिङ गर्नुहोस् ।
  • आगामी केही दिन गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले माछापोखरीमा धमिलो पानी मिसिन नदिनुहोस् । माछापोखरीको निकासद्वारमा माछाको साइज अनुसारको जाली लगाई पानी निकासको उचित व्यवस्था मिलाउनुहोस् ।
  • मौसम सम्बन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौबिसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर – ११५५ मा फोन गर्नुहोस् ।
  • कृषि र पशु सम्बन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर ११३५ मा हरेक सोमबार दिउँसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस्