Logo

नयाँ गठबन्धनले संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भनेर सबैले बुझेका छन्– रवि लामिछाने

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खुल्न थालेपछि नेपाली कांग्रेस र नेकपा (एमाले) को बीचमा नयाँ गठबन्धन बनेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भनेर सबैले बुझेको बताएका छन्।

‘जे भएको छ केही भन्नै पर्ने छैन। सबै कुरा स्पष्ट पाइसकेको छ। तपाईंहरूले देखिहाल्नुभएको छ। जुन ढंगले सरकार अघि बढेको थियो। तपाईंहरू नै भन्नुहुन्थ्यो, फाइल खोल्नुपर्‍यो, फाइल खोल्नुपर्‍यो। फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने गरी भयो। मैले के भन्नु र?,’ उनले भने।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेकाले हो गठबन्धन फेरबदल भएको हो भन्ने प्रश्नमा उनले भने, ‘बेचैनीको अरू के अर्थ होला र? एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आयो यो सरकारलाई, संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भन्ने यति पनि बुझ्न नसक्ने, सबैले बुझेकै कुरा हो। ठीक छ अहिले मलाई केही पनि भन्न छैन। संवैधानिक प्रक्रियाहरू सुरू होला। यस पछाडि अरू कुराहरू गर्ने छँदैछ,’ उनले भने।

नक्कली भुटानी शरणार्थी प्रकरणमा गत शुक्रबार बेचन झा पक्राउ परेका थिए। सोही प्रकरणमा त्यही दिन काठमाडौंको बौद्धबाट एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पनि पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस्