Logo

एमालेले लियो प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता

फाइल तस्वीर

काठमाडौं– नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिएको पत्र केही समयपछि प्रधानमन्त्री प्रचण्डलाई बुझाउने एमालेले जनाएको छ ।

एमालेले प्रचण्डलाई राष्ट्रिय सहमतिको सरकारका लागि मार्ग प्रशस्त गर्न भनेको थियो । तर प्रचण्डले राजिनामा नदिने भएपछि एमालेले समर्थन फिर्ता लिएको हो । समर्थन फिर्ता लिने निर्णयको कपीसहित प्रधानमन्त्रीलाई पत्र बुझाउने र मन्त्रीहरू पनि फिर्ता लिन लागेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै एमालेका अध्यक्ष केपीशर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरूलाई बुधबार साँझ सामूहिक रूपमा बालकोटस्थित आफ्नो निवासमा बोलाएका छन् ।

एमालेबाट रघुवीर महासेठले उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालयसहित नेतृत्व गरिरहेका छन् । त्यस्तै, पदम गिरी कानुन, ज्वाला साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था, दामोदर भण्डारी उद्योग, भगवती चौधरी महिला, राजेन्द्र राई खानेपानी, हरिप्रसाद उप्रेती रक्षामन्त्री छन् ।

एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै प्रचण्ड सरकार अल्पमतमा परेको छ । ७९ सिट रहेको एमालेले समर्थन फिर्ता लिएपछि अब प्रचण्ड सरकारको समर्थनमा ३२ सिटको माओवादी, २१ सिटको रास्वपा, १० सिटको नेकपा एकीकृत समाजवादी, ७ सिटको जसपा र ६ सिट रहेको जनमतको मात्र समर्थन बाँकी रहेको छ ।

अब प्रचण्डले आगामी साउन १९ भित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्