रास्वपाका निलम्बित महामन्त्री डा मुकुल ढकालको प्रतिवेदनमा रविमाथि प्रश्न नै प्रश्न

720
Shares

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा मुकुल ढकालले आफ्नो चर्चित सम‍ीक्षा प्रतिवेदनको पूर्णपाठ बिहिबार आफैंले सार्वजनिक गरेका छन् । ३२ पेज लामो प्रतिवेदन पार्टीको थुप्रै कमीकमजोरीहरू औंल्याएका छन् ।

यहि तरिकाले अघि बढ्ने हो भने रास्वपा उँभो नलाग्ने उनको प्रतिवेदनको निश्कर्ष छ । उनले प्रतिवेदनमा पार्टी सभापति रवि लामिछानेमाथि प्रश्न नै प्रश्न उठाएका छन् । प्रतिवेदनमा डा. ढकालले पार्टीभित्रका यही तरिकाले पार्टी प्रतिवेदनको निष्कर्ष छ । साथै, प्रतिवेदनमा सभापति रवि लामिछानेमाथि समेत प्रश्नहरू उठाइएका छन् ।

ढकालले आफूले भेटेका कार्यकर्ताहरूको हवाला दिएर यी प्रश्नहरू गरेका छन् । ‘चेसमा रानी धेरै चल्दैन, तर हाम्रो पार्टीमा किन सभापति नै धेरै चलेको? सभापति आफै गृहमन्त्री भएर किन गएको? सिके राउत जस्तो ब्याकमा किन नबसेको?,’ उनले प्रश्न गरेका छन्।

उनले गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई कहिले समातिन्छन् भनेर सोधेका छन्। समात्न नसकिने भए प्रतिपक्षीमा हुँदा किन म्याद तोकेर बोलेको भन्दै प्रश्न उठाएका छन्।

‘जिबी राई कहिले समातिन्छन्? समात्न सकिँदैनथ्ये भने प्रतिपक्षीमा हुँदा किन म्याद नै तोकेर बोलेको?,’ उनले प्रतिवेदनमार्फत् भनेका छन्। उनले सभापति रवि लामिछानेको कार्यशैलीमाथि पनि प्रश्न उठाएका छन्।

‘सभापतिसँग भेट्नभन्दा नरेन्द्र मोदीलाई भेट्न सजिलो छ। सभापतिको सचिवालयमा मृदुभाषी भएनन् । यही सचिवालयबाट अगाडि बढे सभापतिबाट राजनीति सम्भव छैन,’ उनले भनेका छन्।

उनले सभापति रवि लामिछानले सचिवालयमा पूर्व ग्यालेक्सी टिभीका सहकर्मी थुपारेको आरोप लगाएका छन्।

‘किन ग्यालेक्सीको टिम धेरै भयो? सभापतिले विश्वासको दायरा बढाउन नसकेको हो? सरकारमा गएपछि सोचे अनुरूप फाइल किन खोलिएन?,’ उनको प्रश्न छ।

निलम्बित महामन्त्री ढकालले कञ्चनपुरमा चार वर्षअघि बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय कहिले मिल्छ भनेर पनि सोधेका छन्। चितवन क्षेत्र नम्बर २ मा चुनाव जितेपछि सुरू भएका परियोजना कता पुगे भनेर पनि चासो राखेका छन्।

‘ब्लु बस र रोजगारीको कुरा कता पुग्यो? सभापतिमा त्यागको भावना छैन भन्ने सन्देश गएको छ। सिधाकुरा जनतासँग कार्यक्रममा बोलेका कुरा जनताले सम्झिराखेका छन् तर सभापतिले बिर्सिए जस्तो छ। पार्टीको मेरूदण्ड नै त्यही कार्यक्रम थियो। पार्टीमा सिधाकुरा जनतासँग कार्यक्रमका मान्छे पनि केन्द्रीय स्तरमै आए, सभापतिको सचिवालयमा नै बसे तर तिनीहरूले पनि सिधाकुरा जनतासँग कार्यक्रम बिर्सिए र अरू राजनीति गर्न थाले,’ उनको आरोप छ।