Logo

संसदमा ‘प्रचण्ड’ लाई ब्वाँसोको संज्ञा, उत्ताउलो भएकै कारण हातबाट सत्ता फुत्किसकेको टिप्पणी

काठमाडौं– प्रतिनिधि सभामा आज पनि घोचपेच चल्ने क्रम जारी रह्यो । संसदमा नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य दयालबहादुर शाहीले प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ब्वाँसोको संज्ञा दिए। मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन उनले एउटा गीतको हरफबाट सुरु गरे, हेप्न पनि के साह्रो हेपेनौ, मान्छे तिम्ले कसैलाई देखेनौ, सिमसिम पानी रैछौ बेइमानी; ।

उनले ०६२/०६३ पछि खुल्ला राजनीतिमा आएका प्रचण्डको बल र छलको शेयर ह्वात्तै बढेको टिप्पणी गरे । नेता शाहीले प्रचण्डले सुम्सुम्याएर सिध्याउने कला सिकेको टिप्पणी गरे । ठूला हात्ती र भैसीँलाई सिधै मार्न नसकेपछि ब्वाँसोले सुम्सुम्याएर सिकार गर्ने गरेको उनले सुनाए ।

०६४ पछि प्रधानमन्त्री प्रचण्डको कारणले एमाले सक्किने ठाउँमा पुगेको बताए । त्यसपछि एमालेलाई केपी शर्मा ओलीले जोगाएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले घमण्ड र घृणाको राजनीति गरेको उनको आरोप छ । प्रचण्ड हिट एन्ड रनको व्यवहार भएको बताए । उनले भने, उहाँले एमाले र कांग्रेसलाई गरेर सात चोटी हिट एन्ड रन गर्नुभयो । एमालेलाई बनाउँदा हामीलाई बनाउनुभयो सोच्यौँ तर उहाँले कांग्रेसलाई हान्नुभएको रहेछ ।’ कांग्रेससँग मिलेजस्तो गरेर प्रचण्डले एमालेलाई सिध्यान खोजेको उनले बताए । उनले प्रचण्डलक्षित गर्दै पौराणिक पात्र हिरण्यकश्यपुको कथासमेत सुनाए ।

हिरण्डकश्यपुले आफूजति बाठो कसैलाई ठान्दैनथ्यो । सिंहले पनि मार्न नसकोस् र मानिसले नि मार्न नसकोस् भन्थ्यो । त्यसैले विष्णुले नरसिंहको अवतार लिनुपरेको कथा सुनाउँदै उनले भने, ‘त्यसैले एमाले र कांग्रेसको यो अवतार आवश्यकताको उपज हो ।’

यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातबाट सत्ता फुत्किसकेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रचण्ड सत्ताका लागि बालकोट र बुढानीलकण्ठ धाएकै कारण यो हालत भएको बताए । ‘अहिले प्रधानमन्त्रीले खेल बुझ्नुभएन । पुस १० गते तपाईं जहाँ पुग्नुभएको थियो, त्यही दिनदेखि दशा सुरु भएको थियो । तपाईंले बुझ्नुभएन । तपाईं कति पटक बालकोट र बुढानीलकण्ठ पुग्नुभयो । यसरी चल्छ राजनीति? पछिल्लो पटक तपाईंलाई पाँच वर्षको लागि सत्ता र शक्तिमा राख्न संसदभित्रको दोस्रो पार्टी मिसिएको थिएन’ उनले भने ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका केसीले प्रचण्ड धेरै उत्ताउलो भएकै कारण लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ चार बल्ड्याङ भने जस्तो अवस्थामा पुगेको बताए । ‘लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ चार बल्ड्याङ भने जस्तो तपाईंले बल्ल भोग्नुभयो । तपाईंहरुको मन्त्रिमण्डल गठन गर्दा नै ठूलो पार्टीले अर्थ र गृह मन्त्रालय किन लिएन, म राजनीति नजान्ने मान्छेले पनि अड्कल गरेको थिएँ । दालमा काला हे, बुढानीलकण्ठले आफ्नो पार्टीभित्र केही विवाद भएका कारणलाई आधार बनाएर फुत्त बालकोट पुग्नुभयो, त्यसको परिणाम भोग्नुभएको छ । अब तपाईंले केही गरे पनि हुनेवाला केही छैन’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्