Logo

साउनदेखि तेस्रोलिङ्गीलाई मासिक रुपमा सामाजिक भत्ता दिँदै तारकेश्वर नगरपालिका

काठमााडौं– काठमाडौंको तारकेश्वर नगरपालिकाले यौनिक तथा अल्पसङख्यक नागरिकलाई मासिक भत्ता दिने भएको छ । नगरपालिकाले पालिकाभित्र स्थायी बसोबास गर्ने यौनिक तथा अल्पसङख्यक समुदाय अर्थात् एलजिविटिक्युआइक्यु प्लसलाई मासिक भत्ता दिने भएको हो ।

नगरपालिकाले आगामी साउनदेखि उनीहरुलाई मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । यौनिक तथा अल्पसङख्यक भनेर कानुनसम्मत पहिचान भएका नागरिकलाई प्रोत्साहनस्वरुप आर्थिक वर्ष २०८१/८२ देखि मासिक रुपमा भत्ता उपलब्ध गराउन लागेको हो ।

नेपालको संविधानको धारा १२, १८ तथा ४२ मार्फत् विभेद अन्त्य गर्न व्यवस्थाहरू गरेको छ। राज्यका निकायमा समान सहभागिता र यौनिक तथा अल्पसङ्ख्यक समुदायलाई विभेद गर्न नहुने उल्लेख गरिएकाले उनीहरुलाई समाजमा खुल्न र घुलमिल गर्न सहज गर्न प्रोत्साहन गर्न लागेको नगर प्रमुख कृष्णहरि महर्जनले बताएका छन् ।

तारकेश्वरमा करिब डेढ लाख जनसङ्ख्या छ। त्यसमा तेस्रो लिङ्गी समुदायका सदस्यहरू छन् भन्ने चाहिँ तथ्यांक छैन । अब नगरपालिकाको कार्यक्रमपछि उनीहरुले प्रोत्साह भत्ताका लागि आवेदन दिनेछन् । कानुनसम्मत पहिचान भएका तेस्रो लिङ्गी समुदायले मासिक भत्ता पाउनेछन् ।

पछिल्लो जनगणनामा नेपालमा तेस्रो लिङ्गी भनेर आफूलाई पहिचान गर्नेको सङ्ख्या २ हजार नौ सय २८ रहेको छ । तर समाजमा खुल्न नसकेका यो समुदाय तथ्यांकभन्दा कयौँ गुणा बढी रहेको ब्लू डाइमन्ड सोसाइटीले दाबी गर्दै आएको छ ।

नेपालको संविधान २०७२ ले यौनिक तथा अल्पसङ्ख्यक समुदायको हक, अधिकार सुनिश्चित गरेको छ । सोपछि गत मंसीरमा पहिलोपटक समलिङ्गी जोडीको औपचारीक विवाह दर्ता गरेका थिए । समलिङ्गी जोडी माया गुरुङ र सुरेन्द्र पाण्डेको विवाह लमजुङको दोर्दी गाउँपालिकामा औपचारिक रूपमा दर्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्