जेनजी आन्दोलनको नाममा बलजफ्तीबाट सरकार हटाइएको ओलीको आरोप


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालीन सरकार लोकतान्त्रिक प्रक्रियाबाट नभई बलजफ्ती, आगजनी र लुटपाटमार्फत हटाइएको दाबी गरेका छन्।

आइतबार काठमाडौँमा अखिल नेपाल किसान महासङ्घको बैठकलाई सम्बोधन गर्दै ओलीले जेनजी आन्दोलनका क्रममा राज्यका संयन्त्रहरू निष्क्रिय र निष्प्रभावी बनेपछि आफूहरू सरकारबाट बाहिरिनुपरेको बताएका हुन्।

उनले आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट र मानवीय क्षतिको निष्पक्ष छानबिन हुन नसकेको आरोप लगाए। सरकारद्वारा गठित छानबिन आयोग र राष्ट्रिय मानव अधिकार आयोगले घटनाको वास्तविकता पत्ता लगाउनुभन्दा आफूलाई आरोपित गर्ने उद्देश्य राखेको उनको दाबी थियो।

ओलीले आन्दोलनका क्रममा गोली चलाउन आफूले वा तत्कालीन गृहमन्त्रीले आदेश नदिएको जिकिर गरे। राज्य, कानुन र संविधानविरुद्धका गतिविधि रोक्न खोज्दा आफूहरू सरकारबाट हट्नुपरेको उनको भनाइ थियो।

विदेशी सामाजिक सञ्जाल कम्पनीलाई नियमन गर्न खोजेको विषयमा तत्कालीन सञ्चारमन्त्रीमाथि कारबाही गर्नुपर्ने राष्ट्रिय मानव अधिकार आयोगको निष्कर्षप्रति पनि उनले आपत्ति जनाए। विघटित प्रतिनिधिसभासम्बन्धी मुद्दाको फैसला गर्न ढिलाइ गरेको भन्दै उनले सर्वोच्च अदालतको आलोचनासमेत गरे।

अध्यक्ष ओलीले नेकपा (एमाले) लाई देशको निर्णायक राजनीतिक शक्तिका रूपमा विकास गर्ने लक्ष्यसहित आफूहरू अघि बढिरहेको बताए।