Logo

मोरङमा कुखुरा फर्म सञ्चालकको विभत्स हत्या

मोरङ– मोरङको एक कुखुरा फर्मभित्र फर्म सञ्चालकको हत्या भएको छ । बिहीबार बिहान करिब साढे १० बजे सुन्दरहरैंचा नगरपालिका–१ स्थित कुखुरा फर्मभित्र एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।

उनका अनुसार सुन्दरहरैंचा–९ बस्ने ४९ वर्षीय सहदेव बजगाईंको शव फेला परेको हो । बजगाईं उक्त फर्मका सञ्चालक समेत हुन् । वडा नम्बर ९ बस्ने उनी बिहीबार बिहान ८ बजेतिर घरबाट फर्ममा हिँडेका थिए ।

मृतकको टाउको क्षतविक्षत अवस्थामा रहेको र शरिरमा चोटसमेत लागेको एसपी कार्कीले बताए । घटनास्थलबाट रगत लागेको बञ्चरो र दाउरा पनि फेला परेको छ । कुखुरा फर्मको रेखदेखका लागि सोही फर्म नजिकै एक दम्पती समेत बस्ने गरेका थिए । घटनापछि उक्त दम्पती फरार रहेकाले कामदारले नै हत्या गरेको आशंका गरिएको प्रहरीले जनाएको छ । उनीहरूको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्