Logo

परिवारका सात जनालाई गुमाएर एक्लै बचेका १७ वर्षिय पवनलाई सरकारले दियो सात लाखको चेक

पोखरा– गत बिहिबार अर्थात् असार २७ गते पहिरोमा परेर कास्कीमा एकै घरका सात जनाले ज्यान गुमाए । पोखरा महानगरपालिका–१९ तल्लाकोट ठाँटीमा राति १० बजे आएको पहिरोले ४६ वर्षीय कुलबहादुर परियारसहित एकै परिवारका ७ जनाले ज्यान गुमाएका हुन् ।

कुलबहादुरकी पत्नी ४३ वर्षीया मनकुमारी, आमा ८५ वर्षीया लक्ष्मी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा र प्रभाका श्रीमान् २५ वर्षीय अस्मित परियार घरभित्रै पुरिए । पहिरोको आवाज सुनेर बाहिर निस्किएकी उनको भन्दा तल्लो घरमा बस्ने भाउजू ५६ वर्षीया राधिका परियारको लडेर ज्यान गयो ।

उक्त घटनापछि मृतक परिवारको पाँच जनाको सामुहिक दाहसंस्कारसमेत गरिएको छ । तर उक्त घटनामा कुलबहादुरका छोरा १७ वर्षीय पवन परियार भने बच्न सफल भए ।

सारा परिवारका सदस्यलाई एकै पटक गुमाएका पवनलाई सरकारले राहतस्वरुप ७ लाख रुपैयाँ प्रदान गरेको छ । उक्त घटनाको ४ दिनपछि कुलबहादुरको परिवारलाई जिल्ला प्रशासन कार्यालय कास्कीले राहत स्वरूप ७ लाख रूपैयाँ प्रदान गरेको हो।

मृतक परिवारलाई जिल्ला विपद् व्यवस्थापन कोषबाट ५ लाख र गण्डकी प्रदेश सरकारको तर्फबाट २ लाख रूपैयाँको चेक प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ। सो चेक सत्र वर्षिय पवनले बुझेका छन् ।

परिवारमा नाबालक छोरा मात्र बाँच्न सफल भएकाले राहत रकम अरू कसैले दुरूपयोग नगरोस् भनेर नाबालकका नाममा खाता खोलेर रकम जम्मा गर्न सम्बन्धित वडा कार्यालयलाई निर्देशन दिइएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए। परियारको घरसमेत पुनर्निर्माण गरिने उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्