काठमाडौं– नेपालमा हरेक दिन ९७ वटा सवारीसाधन दुर्घटना हुने गरेको तथ्यांकले देखाएको छ । नेपाल प्रहरीको तथ्याङ्क विश्लेषणअनुसार दैनिक औषत ९७ वटा सवारि दुर्घटना हुने गरेको छ । जसमध्ये दैनिक औषतमा सात जनाको ज्यान जाने गरेको छ ।
यस्तै उक्त दुर्घटनामा दैनिक ८८ जना घाइते हुने गरेका नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताएका छन् । उनले गएको आर्थिक वर्ष २०८०÷८१ मा नेपालमा ३५ हजार ४०४ वटा गाडी दुर्घटना भएको जानकारी दिए ।
ती दुर्घटनामा परी गत एक वर्षमा दुई हजार तीन सय ६८ जनाको ज्यान गएको छ । दुर्घटनामा छ हजार एक सय ६० गम्भीर र २५ हजार नौ सय ९६ जना सामान्य घाइते भएका छन् । सवारी दुर्घटनामा एक सय एक चौपायासमेत मरेका छन् ।
सवारि दुर्घटनामा सबैभन्दा धेरै दुई पाङ्ग्रे सवारीसाधन दुर्घटनामा पर्ने गरेको प्रहरीको तथ्याङ्क छ । गएको वर्ष १९ हजार नौ सय ८४ मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परेका थिए ।
यसैबीच गएको वर्ष ट्राफिक प्रहरीले ट्राफिक नियम उलङ्घन गर्ने २२ लाख ९१ हजार आठ सय १७ वटा सवारिसाधनलाई कारबाही गरेको छ । सोवापत एक अर्ब ७५ करोड ८१ लाख ८६ हजार सात सय ६० राजस्व संङ्कलन गरेको छ ।
प्रहरीले एक वर्षमा सङ्गठनको आचरणविपरित काम गर्ने एक हजार सात सय एक प्रहरी कर्मचारीलाई समेत कारबाही गरेको जानकारी दिएको छ।
प्रतिक्रिया