काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरीत व्यक्तिगत सुरक्षाकर्मी खटाइएको वा उनीहरूलाई घरायसी तथा निजी काममा प्रयोग गरिएको पाइएमा उजुरी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयले नियमविपरीत खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र सम्बन्धित दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउन निर्देशनसमेत दिएको छ ।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै ‘अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१’ विपरीत खटाइएका सुरक्षाकर्मीलाई फिर्ता पठाउन निर्देशन दिइएको जानकारी दिएका हुन् ।
मन्त्रालयका अनुसार बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले पाउने व्यक्तिगत सुरक्षाकर्मीको व्यवस्था कार्यविधिमा स्पष्ट रूपमा उल्लेख गरिएको छ । तर, सुरक्षा प्रयोजनका लागि खटाइएका सुरक्षाकर्मीलाई घरायसी तथा व्यक्तिगत काममा प्रयोग गरिएको भन्ने गुनासो प्राप्त भएपछि मन्त्रालयले यस्तो कदम चालेको हो ।
गृह मन्त्रालयले कार्यविधि तथा निर्देशनविपरीत सुरक्षाकर्मी खटाउने सम्बन्धित अधिकृत वा पदाधिकारीमाथि कारबाही गरिने चेतावनी पनि दिएको छ । सुरक्षा प्रयोजनका लागि खटाइएका जनशक्तिलाई तोकिएको जिम्मेवारीभन्दा बाहिर प्रयोग नगर्न मन्त्रालयले आग्रह गरेको छ ।
सुरक्षाकर्मीलाई सुरक्षा कार्यबाहेक अन्य घरायसी वा व्यक्तिगत काममा लगाइएको पाइएमा सम्बन्धित सुरक्षाकर्मी वा सर्वसाधारणले गृह मन्त्रालयको कल सेन्टरमा उजुरी गर्न सक्नेछन् । उजुरीका लागि मन्त्रालयले ९८५१३६०६०३ नम्बर उपलब्ध गराएको छ ।
मन्त्रालयले उजुरी तथा सूचना दिने व्यक्तिको गोपनीयता कायम राखिने जनाएको छ । कार्यविधिविपरीत सुरक्षाकर्मी परिचालन भएको जानकारी भएमा उपलब्ध गराएर नियमविपरीतका गतिविधि रोक्न सहयोग गर्न मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ ।


















प्रतिक्रिया