‘तीन महिनामा विद्युत महसुल नतिरे फेरि लाइन काट्छौँ,’ कुलमान घिसिङ

792
Shares

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन जोडिएको प्रष्ट पारेका छन् ।

शुक्रबार बसेको संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै घिसिङले तीन महिनाको समय दिएको र सो अवधिमा सबै बाँकी पैसा तिर्नुपर्ने बताए । अन्यथा प्राधिकरणले नियमानुसार आफ्नो काम गर्ने उनको भनाइ छ ।

‘डेडिकेटेड लाइनको बिल भुक्तानी नगर्ने उद्योगलाई फेरि तीन महिनाको समय दिएर लाइन जोडिदिएका छौँ । त्यतिबेलासम्म पनि उद्योगले बुझाउनुपर्ने पैसा बुझाएनन् भने प्राधिकरणले आवश्यक निर्णय लिनेछ’ उनले भने ।

उनले केही उद्योगले भने लोडसेडिङको अन्त्य भएपछि पनि भुक्तानी गरिरहेको बताए ।‘केही उद्योगले पैसा तिरिरहनुभएको छ । कसैले लोडसेडिङ अन्त्य भएपछि पनि तिरिरहेका छ्न् । १७४ उद्योगले तिरेका छन् । बक्यौता नलिने भएमा लिएका उद्योगको पैसा फिर्ता गर्न तयार छौँ’ उनले भने ।

कार्यकारी निर्देशक घिसिङले विद्युत् प्राधिकरण अहिले ४६ अर्ब नाफामा भएको बताए ।‘हाम्रो ४६ अर्ब सञ्चित नाफा छ । बक्यौता उठ्न बाँकी २१ अर्ब जोड्ने हो भने हामी ६० अर्ब नाफामा छौँ’, उनले भने ।

डेडिकेटेड र टंक लाइन विवाद हुँदा गत साता प्राधिकरणले ६ वटा उद्योगको लाइन काटेको थियो । केपी शर्मा अ‍ोली नेतृत्वमा नयाँ सरकार बन्नसाथ प्राधिकरणले उद्योगमा लाइन काटेपछि प्रधानमन्त्री र प्राधिकरणबीच टसलसमेत परेको थियो ।

प्रधानमन्त्री ओलीले घिसिङलाई बोलाएर तत्काल लाइन जोड्न निर्देशनसमेत दिएका थिए । तर, उनले तीन दिनसम्म ओलीको निर्देशन मानेनन् । सरकारले पदबाट हटाउनेगरि तयारी थालेपछि मात्र सर्तसहित प्राधिकरण विद्युतको लाइन जोड्न तयार भएको स्रोतको भनाइ छ । घिसिङ नेकपा माओवादी केन्द्रको तर्फबाट प्राधिकरणको नेतृत्वमा दोस्रोपटक पुगेका छन् ।