हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद, सवार सबैजनाको शव फेला
काठमाडौं– एयर डाइनेस्टीको हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको पाइएको छ । नागरिक उड्डयन प्राधिकरणले बुधबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार काठमाडौँ विमानस्थलबाट दिउँसो १ः५४ मा उडेको हेलिकप्टर (९एन–एजेडी) रसुवाको स्याफ्रुबेशी रसुवा जिल्ला जाँदै थियो ।
हेलिकप्टरमा क्याप्टेनबाहेक ४ जना यात्रु (चिनियाँ नागरिक) रहेको जानकारी दिँदै प्राधिकरणले भनेको छ, ‘सो हेलिकप्टर उडान गरेको ३ मिनेटपछि काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भई नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्याचौर भन्ने स्थानमा दुर्घटनामा परेको पुष्टि भएको छ।’
दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्धार कार्यका लागि प्रभु हेलिकप्टर कम्पनीको हेलिकप्टर दुर्घटनास्थलतर्फ प्रस्थान गरेको प्राधिकरणले जनाएको छ । दुर्घटनामा हेलिकप्टरमा सवार सबै अर्थात् सबैजनाको .शव फेला परेको उद्धारकर्ताहरूले जनाएका छन् । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।