गट्ठाघरमा बिहीबार भएको घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्री लेखकको निर्देशन

144
Shares

काठमाडौं– गृहमन्त्री रमेश लेखकले भक्तपुरको गट्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको घटनाको गम्भीरतापूर्वक छानबिन गर्न निर्देशन दिएका छन् ।

प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई उनले शुक्रबार निर्देशन दिएका छन् । गट्ठाघरमा भएको दुर्घटनाबारे दुःख व्यक्त गर्दै मन्त्री लेखकले भनेका छन्, ‘गट्ठाघरको दुर्घटना हुनुमा कसैको गल्ती छ कि? यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि? यसको गम्भीरतापूर्वक छानबिन गर्नुहोस् ।’

बिहीबार दिउँसो १ः४५ बजे भक्तपुरको गट्ठाघर चोक नजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो । ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक चालकलाई बिहीबार साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरेको थियो । घटनापछि आक्रोशित स्थानीयले ट्रकमा तोडफोडका साथै आगजनी गरेका थिए । आगो एक्कैछिनमा नियन्त्रणमा लिइएको थियो । बिहिबार त्यहाँको अवस्था तनावग्रस्त भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हानेको थियो ।