नेपाल प्रिमियर लिगको अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया खुला

504
Shares

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया खुला गरेको छ । क्यानले शनिबार प्रेस विज्ञप्ति मार्फत अक्सनमा सहभागी हुन चाहने खेलाडीका लागि अनलाइनमार्फत नाम दर्ता खुला गरेको हो ।

एक हजार रुपैयाँ शुल्क तिरेर खेलाडीहरुले असोज १२ सम्ममा आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।

अक्सनमा ए बी र सी ग्रेडमा दर्ता गर्न सकिनेछ । ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख रुपैयाँ तोकिएको छ । उक्त मूल्य बढीमा १५ लाखसम्म जानेछ । एउटा ए ग्रेडको खेलाडीलाई १५ लाखसम्म एक भन्दा बढी टोलीको बोली लागेको खण्डमा चिट्ठा थुतिने क्यानले जनाएको छ ।

यस्तै बी ग्रेडका खेलाडीको न्यूनतम मूल्य ५ लाख राखिएको छ । बी ग्रेडका खेलाडीको उच्चतम मूल्य १० लाखसम्म पाउनेछन् । १० लाख भन्दा बढी भएमा चिट्ठा थुतिनेछ । त्यस्तै सी ग्रेडका खेलाडीको न्यूनतम मूल्य २ लाख राखिएको छ । बढीमा ५ लाखसम्म जानेछ । त्यसपछि चिट्ठा थुतिनेछ ।

एनपीएल नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौंमा हुँदैछ । एनपीएलमा काठमाडौं, पोखरा, चितवन, विराटनगर, जनकपुर, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली गरी आठ टोली छन् ।