लगातार ११ खेलमा हार व्यहोरेको नेपाल ओमानसँग ३७ रनले बिजयी
काठमाडौं– क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानसँग जीत हात पारेको छ । क्यानडामा जारी ओडीआई र टि–२० सिरिजमा हार व्यहोरेको नेपालले यो खेलसँगै आफ्नो हारको शृङ्खलालाई रोकेको छ ।
यसअघि भएका लगातार ११ खेलमा नेपालले जीत निकाल्न सकेको थिएन । सोमवार बिहान सकिएको खेलमा नेपालले ओमानमाथि ३७ रनको जित हात पारेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ओमानलाई १ सय ७७ रनको लक्ष्य दिएको थियो । तर ओमान १९.१ ओभरमा १ सय ३९ रन बनाउँदै अल आउट हुँदै नेपालसँग हार ब्यहोरेको छ ।
ओमानका लागि सोयब खानले ३९ बलमा सर्वाधिक ४५ बनाए । रफिउल्लाहले १२ बलमा ३३ रन, प्रतिक अथाभालेले १४ बलमा १५, खालिद कैलले ११ रन जोडे ।
नेपालका लागि करन केसीले सर्वाधिक तीन विकेट लिएका थि ए । कुशल भुर्तेल र गुलशन झाले समान २ तथा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र रिजन ढकालले समान १ विकेट लिए ।
यस्तै नेपालका लागि गुलशन झाले १७ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ४० रन बनाउँदै अबिजित रहे । । कुशल भुर्तेलले १७ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन बनाए ।
कुशल मल्लले २६ बलमा २ चौका र २ छक्कासहित ३० रन बनाए । ओपनर अनिल शाह र आसिफ शेखले समान २७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ५ बलमा १ चौका र २ छक्काको सहयोगमा नट आउट रहँदै १८ रन बनाए ।
उता ओमानका लागि कप्तान अकिब इल्यासले ३, जिशान मक्सुद र फैयज बटले समान १ विकेट लिए । नेपालले टि–२० सिरिजमा तेस्रो खेलमा मंगलवार क्यानडासँग खेल्दा चौथो खेलमा बुधवार फेरि ओमानको सामना गर्नेछ ।