डीपी अर्याल र सन्तोष परियारले रविलाई बचाउन प्रधानमन्त्रीलाई हारगुहार गरेको विष्णु रिजालको दाबी


काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले रास्वपाका नेताले पार्टी सभापति रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिन हारगुहार गरेको बताएका छन् । रास्वपा उपसभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रातको समयमा भेटेर लामिछानेविरुद्धको मुद्दा फिर्ता गर्न हारगुहार गरेको दाबी गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन्, ‘दिनभरि प्रधानमन्त्रीका विरूद्धमा व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शव बनाएर दाहसंस्कार गर्ने जस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू राति÷राति कुन मुख लिएर बालुवाटारमा कुरेर ‘रविजीलाई बचाइदिनुपर्‍यो लौ न’भनेर हारगुहार गर्दा हुन् ?’

उनले राजनीतिमा धैर्य र इमान चाहिने बताएका छन् । उनले थप लेखेका छन्, ‘यति हेक्का राखे हुन्छ( राजनीतिमा धैर्य र इमान चाहिन्छ । जे गर्छ, कानूनले गर्छ । डोलप्रसादजी र सन्तोषजीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गरे जस्तो उहाँले चाहँदैमा मुद्दा फिर्ता सम्भव हुन्न ।’

कार्तिक २ गते काठमाडौंबाट  पूर्व गृहमन्त्रीसमेत रहेका लामिछाने पक्राउ परेका थिए । उनी हाल कास्की प्रहरीको हिरासतमा छन् । रास्वपाले भने सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै आन्दोलन गरिरहेको छ । रास्वपाले पोखराबाट सुरु गरेको आन्दोलनलाई काठमाडौं केन्द्रीत गरिरहेको छ।

सोही क्रममा आज रास्वपाले दिउँसो १२ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरिरहेको छ । आन्दोलनको नेतृत्वको उपसभापति स्वर्णिम वाग्ले र डिपी अर्यालले गरेका छन् ।  यसअघि रास्वपाले तिहार भित्रिएसँगै आजबाट देशव्यापी रुपमा आन्दोलनबाट ब्याक हुने जनाएको थियो ।

उता सहकारी ठगी र संगठित अपराधको आरोपमा पक्राउ परेका लामिछानेविरूद्ध सम्पत्ती शुद्धीकरणको मुद्दा पनि चलाइने भएको छ। लामिछानेविरूद्ध रूपन्देही जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ।