काठमाडौं– मानिसको मृत्यु भएपछि विभिन्न धर्म र मूल्य मान्यता अनुसार अन्तिम संस्कार गर्ने गरिन्छ । हिन्दु परम्पराअनुसार मानिसको मृत्युपछि घाटमा लगेर दाहसंस्कार गर्ने गरिन्छ ।
तर भारतको गुजरातमा भने मानिस चढेर हिँड्ने कारको नै अन्तिम संस्कार गरिएको छ । गुजरातको अमरेली जिल्लाका एक परिवारले १२ वर्षअघि किनेको कारलाई माया गर्दै हिन्दु संस्कारअनुसार गाढेर अन्तिम संस्कार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
निर्माण व्यवसायी सञ्जय पालोराले आफ्नो १२ वर्ष पुरानो कारको पूर्ण धार्मिक अनुष्ठानका साथ अन्तिम संस्कार गरेका हुन् ।
भाइरल भिडियोमा कारधनीले आफ्नो कारलाई एउटा खाल्डोमा गाड्दै गरेका छन् । भिडियोमा जेसीबीको सहयोगमा १५ फिट गहिरो खाडल खनिएको देखाइएको छ । केही व्यक्तिले उक्त खाल्डोमा ओर्लिएर कारको पूजा गरिरहेका छन् भने कोहिले मन्त्र जपिरहेका छन् । त्यसपछि फूल र मालाले भरिएको हरियो कपडाले बेरिएको कारलाई उक्त खाडलमा राखिन्छ । अनि कारलाई गाडेर त्यसको अन्तिम संस्कार पूरा गरिन्छ ।
उक्त कारको अन्तिम संस्कार समारोहमा करिब डेढ हजार मानिस पुगेका थिए । अन्तिम संस्कारमाम कार मालिकले चार लाख रुपैयाँ खर्च गरेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । कारधनी पालोराले आफ्नो परिवारको उन्नतिमा गाडीको ठूलो योगदान रहेकोको त्यसलाई नबेच्ने निर्णयमा पुगेको बताएका छन् ।
उनले भने, ‘मैले करिब १२ वर्षअघि यो कार किनेको थिएँ र यसले परिवारमा समृद्धि ल्याएको थियो । हामीले व्यापारमा ठूलो सफलता पाएका छौं । हाम्रो सामाजिक स्थितिमा सुधार आएको छ। यो कार हाम्रो परिवारको लागि धेरै भाग्यशाली साबित भयो। त्यसैले यसलाई बेच्नुको सट्टा हामीले यसलाई श्रद्धांजलिको रूपमा गाड्ने निर्णय गरेका हौं ।’
प्रतिक्रिया