काठमाडौं– सामाजिक सञ्जालमा भाइरल हुनका लागि मानिसहरु फरक फरक किसिमका रिल बनाउने गर्छन् । फरक खालका भिडियो बनाएमा धेरै भ्युज पाउने लोभमा मानिसहरुले आफ्नो ज्यानकै जोखिमसमेत मोल्ने गरेका छन् ।
यस्तै सामाजिक सञ्जालमा भाइरल हुन रिल बनाउन चक्करमा एक युवकले आफ्नै ज्यानको बाजी थापेका छन् । भारतको राजस्थानस्थित जयपुरमा एक युवकले आफ्नो ज्यानको बाजी थाप्दै रेलमार्गमा नै ट्रक चलाएा छन् । उक्त घटना गत सोमबारको हो । भाडामा उक्त गाडी लिएर उनीहरु रेलमार्गमा ल्याएका थिए । मदिराको नशामा रहेका युवकले साथीहरूको उक्साहटमा रेलमार्गमा महिन्द्रा थार गुडाएका हुन् । उनले रेलमार्गमा गाडी चलाउने प्रयास गरेपनि त्यसलाई नियन्त्रण गर्न नसक्दा गाडी ट्रयाकमा अड्किएको थियो । पछाडीबाट रेलमार्गमा मालगाडी आइरहेको थियो ।
उक्त गाडी देखेर गाडीमा बसेका युवकहरु गाडीबाट निस्किएर भागेका थिए । तर गाडी चलाइरहेका युवक भने गाडीबाट निस्किएनन् । मालगाडी पाइलटले गाडी देखेर ब्रेक लगाएपछि तत्कालका लागि दुर्घटना हुनबाट टरेको थियो ।
पछि केही व्यक्तिले उनलाई ट्रयाकबाट गाडी निकाल्न सहयोग गरे । गाडी निकाल्दा हुत्तिएर २०–३० मिटर पछाडि पुगेको थियो । त्यस क्रममा गाडीले रमिता हेर्न आएकामध्ये तीन जनालाई ठक्कर दिएको समेत बताइएको छ ।
उक्त घटना हुनेबित्तिकै प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले युवकलाई नियन्त्रणमा लिनुका साथै गाडी बरामद गरेको छ ।
पछिल्लो समय भारतमा रेलको ट्रयाकमा रिल बनाएको र यस क्रममा दुर्घटना भएका घटनाहरु बढ्दै गइरहेका छन् । क्षणिक चर्चाका लागि जोखिम लिएर रिल बनाउन खोज्दा तीब्र गतिमा आएको रेलमा ठोक्किएर मानिसहरुले ज्यानसमेत गुमाएका छन् ।
प्रतिक्रिया