पर्यटनमन्त्रीले क्यासिनोलाई इजाजत दिँदा मोटो रकम घुस लिएको अभिव्यक्ति राजेन्द्र बजगाईंले लिए फिर्ता, मागे माफी


काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेविरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिएका छन् । आफूले दिएको अभिव्यक्तिले सम्बन्धित व्यक्ति र परिवारलाई चोट पुगेको भन्दै उनले क्षमा मागेका हुन् ।

‘सामाजिक सञ्जाल एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्तिउपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो,’ बजगाईंले भनेका छन्, ‘मैले लगाएको आरोपले मन्त्रीजीलाई निकै चोट परेको पाएँ । त्यसकारण उक्त अभिव्यक्ति फिर्ता लिएको छु । टिप्पणीबाट परिवारजनमा परेको चोटप्रति पनि क्षमाप्रार्थी छु ।’

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले सांसद बजगाईंसँग स्पष्टीकरण लिएको थियो । केन्द्रीय अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगाना नेतृत्वको समितिले सांसद बजगाईंलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेमाथि लगाएको आरोपबारे स्पष्टीकरण सोधेको थियो ।

बजगाईँले मन्त्री पाण्डेलाई क्यासिनोलाई इजाजत दिँदा मोटो रकम घुस लिएको आरोप लगाएका थिए । त्यसपछि मन्त्री पाण्डेले बजगाईँले आफूविरुद्ध बारम्बार कुप्रचारमा उत्रिएको भन्दै पार्टीमा उजुरी दिएका थिए ।