प्रधानमन्त्री ओलीलाई सुझाव दिएर छलफल नसकिँदै निस्किए पूर्व प्रधानमन्त्रीद्वय


काठमाडौं– आसन्न चीन भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको बैठकमा सहभागी भएका पूर्व प्रधानमन्त्रीद्धय माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड छलफलबाट बाहिरिएका छन् ।

आफ्नो तर्फबाट सुझाव प्रस्तुत गरेका दाहाल र नेपाल बाहिरिएका हुन् । छलफलबाट बाहिरिएका नेपाल मिडियासँग बोलेपनि प्रचण्डले भने कुनै पनि प्रतिक्रिया दिन मानेनन् । प्रचण्ड र माधव बाहिरिएपनि छलफल अझै जारी छ ।

प्रधानमन्त्री ओलीले मंसिर १७ देखि चीन भ्रमण गर्ने तयारी गरेका छन् । कार्यक्रम अनुसार मंसिर १८ गते उनले चिनियाँ राष्ट्रपति सि जिनपिङ र आफ्ना चिनियाँ समकक्षीसँग वार्ता गर्नेछन् । १९ गते उनले चीनको बेइजिङस्थित नेपाली दूताबासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । त्यसदिन प्रधानमन्त्री ओलीले नेपाल र चिनियाँ उद्योगी व्यवसायीहरुको संयुक्त कार्यक्रम बिजनेस समिटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री मंसिर २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।