काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले कार पुरस्कार पाउने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि हुन लागेको पहिलो संस्करणको एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार प्रदान गर्ने भएको हो । प्रतियोगिताको ‘प्लेयर अफ द सिरिज’ नेपाली खेलाडी घोषित भएमा मात्र उक्त खेलाडीलाई कार पुरस्कार दिइने शारडा समूहले जनाएको छ ।
यदि सिरिजमा विदेशी खेलाडी ‘प्लेयर अफ द सिरिज’ भएमा चाहिँ कार बाहेक अन्य पुरस्कार पाउने छन् । नेपालीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले कार पाउने छन् । काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै कार पुरस्कारको घोषणा भएको हो ।
त्यसैगरी अटोमोबाइल ब्रान्ड ओमोडा एन्ड जेइकोले लिगमा सहप्रायोजन गर्ने भएको छ । यसका लागि क्यानले ओमोडाको आधिकारिक विक्रेतासँग सम्झौता गरेको हो । क्यानका सचिव र क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का र ओमोडाको आधिकारिक विक्रेता एसजीपी आटोमोबाइल्सका निर्देशक गौरव शारडाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
निर्देशक शारडाले ओमोडा एन्ड जेइको र एनपीएलबीचको सहकार्यले नेपालमा क्रिकेटको प्रवर्द्धन र विकासमा टेवा पुर्याउने बताएका छन् ।
प्रतिक्रिया