कच्ची सडकको धुलो र धुवाँबाट छुट्कारा पाउन चाहन्छन् कीर्तिपुरका जनता, डाक्टर शिवशरण महत उत्तम विकल्प


काठमाडौं– मंसीर १६ मा हुन लागेको उपनिर्वाचनको मूख्य आकर्षण बनेको छ कीर्तिपुर नगरपालिका । उपनिर्वाचन हुन लागेका स्थानीय तहमध्ये कीर्तिपुर एक्लो नगरपालिका भएका कारण पनि यहाँ धेरैको चासो बढेको छ ।

काठमाडौंको कीर्तिपुर नगरपालिका रत्नपार्कबाट सात किलोमिटरको यात्राबाट पुग्न सकिन्छ । तर कीर्तिपुर भौगोलिक हिसाबले राजधानीसँग जोडिएपनि विकासका मामलाभने कोशौँ टाढा छ । देशको राजधानीमै रहेको यस नगरपालिकाका स्थानीयले विकास के हो नजिकबाट नियाल्ने अवसर नै पाएका छैनन् । कीर्तिपुरका अधिकांश बाटो कालोपत्रे भन्दापनि कच्चि छन् । जसकारण सँधै धुलो र धुवाँको शिकार बन्नुपर्ने बाध्यता यहाँका स्थानीयको छ ।

त्यसैले मेयर पदमा उठेका उम्मेदवारहरुको घोषणा पत्रमा शिक्षा, स्वास्थ्य, खानेपानीको विकासलाई मूख्य एजेन्डा बनाइएको छ ।

१४.७६ वर्ग किमीमा फैलिएको कीर्तिपुरमा न त राम्रो सरकारी विद्यालय छन् । न त राम्रो सरकारी अस्पताल नै । कीर्तिपुरमा विष्णुदेवि अस्पताल त छ । यसलाई १५ शय्याको अस्पतालमा स्तरोन्नती गरेर नगर अस्पतालको रुपमा विकसित गर्ने भनिएपनि हालसम्म यसको विकास हुन सकेको छैन । यहाँ नगरपालिकाले फोहोर नउठाइ निजी कम्पनीलाई फोहोर व्यवस्थापनको जिम्मा दिँदा फोहोरमा राजनीति भएको आरोप लाग्ने गरेका छन् ।

कीर्तिपुरको मेयर पदमा नेकपा एमालेबाट दुई पटक मेयर निर्वाचित भइसकेका छन् । गत स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसबाट उम्मेदवार भएका राजकुमार नकर्मी विजयी भएका थिए । मेयर नकर्मीको निधन भएपछि अहिले कीर्तिपुरमा उप निर्वाचन हुन लागेको हो । कीर्तिपुरबाट नेपाली कांग्रेसले सांसद पदमा दुईपटक निर्वाचन जितिसकेको छ । तर भोट हालेर जतिपटक जिताएपनि जनप्रतिनिधिले कीर्तिपुरको विकासका लागि केही गर्न नसकेको भन्दै यहाँका जनता आजित भएका छन् । अब यो पटक भने अरु नै पार्टीका व्यक्तिलाई एक अवसर दिने सोच बनाएको यहाँका स्थानीयको भनाइ छ ।

यसपटक कीर्तिपुरको विकासको लागि नेकपा माओवादीका उम्मेदवार प्रा.डा शिवशरण महतलाई विकल्पका रुपमा यहाँका जनताले देखेका छन् । डा. महतो त्यस्ता व्यक्ति हुन् जसले पहिले नै कीर्तिपुरको खानेपानी, नगर बस विस्तार, सहकारी क्षेत्रको विकासमा मूख्य भूमिका खेलेका कारण उनले यहाँका स्थानीयको विश्वास जितेका छन् ।

डा. महतसँग त्रिभुवन विश्वविद्यालयको शिक्षा विभागअन्तर्गत रहेर काम गरेको लामो समयको अनुभव छ । शिक्षा क्षेत्रमा विज्ञ रहेका मेयर पाएमा शिक्षालगायत समग्र क्षेत्रको विकास हुने त्यहाँका स्थानीयले विश्वास लिएका छन् । यस्तै डा.महतले पनि कीर्तिपुरबासीका सामु आकर्षक एजेन्डा अघि सारेका छन् ।

उनले कीर्तिपुरको घरघरबाट निःशुल्क फोहोर उठाउने घोषणा गरेका छन् । कीर्तिपुरमा पानीका मुहान भएपनि अन्य स्थानीय तहका मानिसले ती मुहानको उपभोग गरिरहेका छन् । तर कीर्तिपुरबासीनै खानेपानीको समस्याले आजित बनेका छन् । यसको विकल्पमा डा. महतले न्युनतम शुल्कमा कीर्तिपुरको पानी कीर्तिपुरकै जनतालाई खुवाउने योजना अघि सारेका छन् । त्रिविसँग सहकार्य गरेर शैक्षिक संस्था सञ्चालन गर्ने, कीर्तिपुरमा रहेको टिचिङ अस्पतालको जग्गाको सदुपयोग गर्दै त्रिविका शिक्षण अस्पताल निर्माण प्रक्रिया अघि बढाउनेजस्ता महत्वकांक्षी योजना उनले अघि सारेका छन् ।

त्यसैले कीर्तिपुरबासीले आफ्नो मतलाई परिवर्तन गर्दै एक पटक डाक्टर मेयर बनाउने सुर कसेका छन् ।