काठमाडौं– वरिपरि भुईदेखि डाँडाँकाडासम्म हिउँ परेर सेताम्मे भएको छ । बिचमा चउरमा समुह समुहमा बालबालिका छन् । उनीहरु हिउँमाथी बेन्च राखेर बसेका छन् र त्यही चिसो हिउँमा पढ्छन् ।
सामान्यतः जाडो महिना लागेपछि न्यानो कपडा लगाएर न्यानो ठाउँमा बसिन्छ । साना बालबालिकालाई तातो बनाइराख्न त विशेष ध्यान पुर्याइन्छ । तर हिमाली क्षेत्रका बालबालिकाहरुले भने त्यस्तो सुविधा पाउनु भने कल्पना गरेजस्तै हो भन्ने चित्रण प्रस्तुत तस्बिरले देखाएको छ ।
भर्खरै देख्नुभएको फोटो हुम्लाको सिमकोट गाउँपालिका– ७ को डाँडाफया गाउँको हो । त्यहाँका कैलाश माध्यमिक विद्यालयका विद्यार्थीहरुले हिउँ जमेको चउरमा बसेर पढिरहेका हुन् ।
हुनत विद्यालयसँग कक्षाकोठा नभएको होइन । तर हिमपातका कारण कक्षाकोठामा झनै चिसो हुनेगरेको विद्यालयका शिक्षक यज्ञबहादुर शाही बताउँछन् । तर, चउरमा हिउँ जमेपनि घाम लाग्ने भएकाले कक्षाकोठा जति चिसो नहुने भएकाले सबै विद्यार्थीलाई चउरमा नै राखेर पढाइएको हो । उक्त विद्यालयका बाल विकासदेखि कक्षा दशसम्म रहेका करिब ३०० विद्यार्थीहरु नै हिउँले जमेको चउरमा बसेर पढ्दै आएका छन् ।
कक्षाकोठा न्यानो नहुँदा बाहिर राखेर पढाउनुको विकल्प नरहेको उनको भनाई छ । उसो त जुम्लामा जाडो महिनामा अत्यधिक हिउँ पर्न थालेपछि झण्डै तीन महिना विद्यालय बन्द हुन्छन् । त्यहाँका विद्यालयमा पुषमा नै शैक्षिक शत्र सक्काएर वार्षिक परिक्षा लिइन्छ र विद्यालय बन्द गरिन्छ । यसवर्ष पनि पुस पहिलो साताबाट त्यहाँ वार्षिक परीक्षा सञ्चालन हुन लागेको छ ।
प्रतिक्रिया