काठमाडौं – मोरङको बेलबारी नगरपालिका वडा नम्बर १ का २७ वर्षीय कैलाश तामाङ पाँच महिनादेखि मिर्गौला फेल भएर जीवन र मृत्युसँग संघर्ष गरिरहेका छन्। मिर्गौला प्रत्यारोपणका लागि आवश्यक सबै प्रक्रिया पूरा भइसके पनि प्रशासनिक ढिलाइका कारण उनको उपचार रोकिएको छ। आर्थिक अवस्था नाजुक भएका जीवन पाउने आशमा छन्
कैलाशकी आमाले उनलाई मिर्गौला दिने सहमति जनाइसकेकी छन्। चिकित्सकीय परीक्षणबाट पनि प्रत्यारोपणका लागि उपयुक्त रहेको पुष्टि पनि भइसकेको छ। नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले आफ्नो स्वामित्वमा रहेको काठमाडौं मेडिकल कलेजमा निःशुल्क मिर्गौला प्रत्यारोपण गरिदिने जिम्मा लिइसकेका छन् ।
तर, काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रशासन शाखा प्रशासकीय अधिकृत रामकुमार तिमल्सिनाले सम्बन्धित फाइल अगाडि नबढाउँदा प्रत्यारोपण प्रक्रिया अल्झिएको छ । कैलाशकी आमा गीता तामाङको दोस्रो विवाह भइसकेको हुँदा कानुनी प्रक्रियाकै कारण अल्झिएको तिमल्सिनाले दाबी गरेका छन् ।
गीता हाल मोरङमै बसोबास गर्दै आइरहेकी छन् । स्थानीय तह तथा मोरङ जिल्ला प्रशासन कार्यालयबाट आवश्यक स्वीकृति र सिफारिस प्राप्त पनि भइसकेको छ। मोरङ प्रशासनको सिफारिस र प्रमाण पुगे पनि पनि कैलाशको जीवन एउटा दस्तखतको पर्खाइमा लट्किएको छ। अर्थात् तिमल्सिनाले एउटा दस्तखत गरिदिए कैलाशले नयाँ जीवन पाउने थिए ।
आफ्नो दोस्रो विवाह भएको कारण देखाउँदै कागजी अड्चन खडा गरिए पनि गीता तामाङ आज पनि आफ्नो छोरा बचाउन मोरङमै बसेर प्रयासरत छिन्।
शाखा अधिकृत तिमल्सिनाले सम्बन्धित फाइल अगाडि नबढाइदिँदा विपन्न वर्गका कैलाशको मिर्गौला प्रत्यारोपण प्रक्रिया अल्झिए पनि प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी पनि बेवास्ता गर्दै आएका छन् ।
‘सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा काठमाडौं प्रशासनबाट गरिएको ढिलाइले हामीलाई अप्ठ्यारोमा पारेको छ,’ तामाङ परिवारको भनाइ छ। कैलाशको स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर बन्दै गइरहेको हुँदा तत्काल निर्णय नगरे ज्यान नै जोखिममा पर्न सक्ने अवस्था देखिएको छ। नागरिक जीवनसँग जोडिएको यस्तो संवेदनशील विषयमा प्रशासनले बेवास्ता गर्दा गरिब र विपन्न वर्गले कस्तोसम्म पीडा भोग्नुपर्दो रहेछ भन्ने उदाहरण बनेका छन् कैलाश ।
प्रतिक्रिया