आजदेखि नेपालभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ अभियान सुरू भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली काठमाण्डौको शिवपुरी स्कुलबाट र मुख्यमन्त्रीहरूले सातै प्रदेशबाट बिहान ११ बजे खोप अभियानको शुभारम्भ गर्ने तयारी गरेका छन्।
यो विद्यालय केन्द्रित खोप अभियान आज माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभर एकैपटक सञ्चालन हुनेछ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, यो अभियानका लागि झण्डै १७ लाख किशोरीलाई खोप दिइनेछ। कक्षा ६ देखि १० सम्मका विद्यालयमा अध्ययन गर्ने छात्रा र १० देखि १४ वर्ष उमेरका विद्यालय बाहिर रहेका किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोपका लागि १८ हजार ९०० विद्यालयका खोप केन्द्र र ८ हजार २ सय अन्य खोप केन्द्र तयार गरिएको छ। साथै, २७ हजार ८० स्वास्थ्यकर्मी, ५४ हजार १ सय ६० स्वयंसेवक र १५ हजार ६ सय ७४ सुपरिवेक्षक अभियानमा संलग्न हुनेछन्।
पाठेघरको मुखको क्यान्सर नेपालमा महिलामा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको छ। स्त्री क्यान्सर रोग विशेषज्ञ डा. सृष्टि श्रेष्ठ प्रजापतिले एचपीभी भाइरसको संक्रमणलाई पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण भनेका छन्। उनले एचपीभी खोपले यस क्यान्सरको जोखिम घटाउनमा महत्वपूर्ण भूमिका खेल्ने जानकारी दिइन्।
नेपालमा हरेक वर्ष दुई हजार एक सय ६९ महिलामा पाठेघरको मुखको क्यान्सरको रोग देखिन्छ, र औसतमा हरेक दिन चार महिलाको ज्यान यस कारणले जान्छ। डा. बुढाथोकीका अनुसार, एचपीभी खोपले ९० देखि ९५ प्रतिशतसम्म सुरक्षा दिने भएकाले सबै किशोरीलाई ढुक्क भएर खोप लगाउन आग्रह गरिएको छ।
प्रतिक्रिया