काठमाडौं – नेपाल कसरी चलेको छ भनेर हेर्न बुधबार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ घटना नै काफी छ । जनमत पार्टीसँग एकता गर्ने दिन नै रेशम पक्राउ परेपछि करिब चार घन्टा नेपालको राजनीतिमा सनसनी मच्चिएको छ ।
चौधरी सर्वोच्च अदालतका कर्मचारीको प्रतिशोधपूर्ण पत्रका आधारमा थुनामा पुगेको खुलेको छ । रेशमलाई कारागार चलान गर्न भन्दै सर्वोच्चको लेटरहेडमा पत्र लेख्ने शाखा अधिकृत महिमानसिंह विष्टले प्रतिषोधपूर्ण पत्र लेखेको खुलेको छ । उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेका छ ।
बुधबार नै लेखिएको पत्रमा चौधरीलाई दिइएको आममाफी नमिलेको आदेश भएकाले उनलाई थुनामा पठाउनू भन्ने आशय उल्लेख थियो । यही पत्रका आधारमा थुनामा पुगेका रेशमलाई प्रहरीले केहीबेरमै थुनामुक्त गर्ने बताएको छ । त्यसका लागि सर्वोच्चको पत्र केहीबेरमा डिल्लीबजार कारागार पुग्दैछ ।
सर्वोच्च अदालत प्रशासनका अनुसार पत्र लेख्ने विष्टमाथि छानविन हुँदैछ । उनले रिसको झ्वाँकमा पत्र लेखेको प्रारम्भिक बयान दिएका छन् ।चौधरी राष्ट्रपतिबाट आममाफी पाएर बाँकी सजाय भुक्तान नगरी छुटेका थिए । व्यक्ति हत्याको आरोप लागेका तरुण नेता रिगल ढकाल राष्ट्रपतिबाट आममाफी पाएको केही दिनमै छुटेका थिए । तर चौतर्फी दबाबपछि उनी पक्राउ परी अहिले बाँकी सजाय भुक्तान गरिरहेका छन् ।
यही आधारमा चौधरीलाई पनि जेल पठाउनुपर्ने आशयको पत्र विष्टले लेखेका थिए । रेशम छुटेसँगैे संगठित अपराधलाई बल पुगेको भन्दै आलोचना भएको थियो । रेशम पक्राउ परेसँगै जनमत र नागरिक उन्मुक्तिबीचको पार्टी एकता अनिश्चितकालका लागि स्थगित भएको छ । रेशमलाई समातिएसँगै नागरिक उन्मुक्ति पार्टीले सरकार छाड्ने तयारीसमेत गरेको थियो ।
प्रतिक्रिया