नेपाली क्रिकेट कप्तान रोहित पौडेल अब रेस्टुरेन्ट व्यवसायी, बानेश्वरमा खोले क्याफे


काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले रेस्टुरेन्ट व्यवसायमा हात हालेका छन् । उनले नयाँ बानेश्वरमा ‘१७ बिन्स क्याफे’ सञ्चालनमा ल्याएका हुन् । आफ्नै जर्सी नम्बर १७ बाट प्रेरित नाम दिइएको क्याफेको शुक्रबार औपचारिक उद्घाटन गरिएको छ ।

क्याफेको उद्घाटन रोहितकी आमा पाल्जेन पौडेलले गरेकी छन् । उद्घाटन कार्यक्रममा उनका बुबाआमा, नेपाली क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, साथै राष्ट्रिय टोलीका अन्य खेलाडीहरूको उपस्थिति थियो। रोहितले आफ्नो क्रिकेट करियरबाट आर्जित केही रकम सुरक्षित रूपमा लगानी गर्दै यो व्यवसाय सुरु गरेको बताए। काठमाडौंमा चिया र कफी संस्कृतिको लोकप्रियता बढिरहेका बेला आफू पनि सोही माहोलमा सामेल भएको उनको भनाइ छ ।

‘जीवन क्रिकेट जस्तै हो, समय मिलाउनु, साहस देखाउनु, र मौका समात्नुपर्छ। आज हामी एउटा यस्तो मौका समात्दैछौं, हाम्रो क्याफे सुरु गर्दैछौं । मैदानमा जस्तै यहाँ पनि म आफ्नो पूरै मिहिनेत दिइरहेको छु। आशा छ, हाम्रो क्याफेले सफलता, खुसी, र सयौं साना रमाइला कथाहरू पकाउँछ,’ रोहितले भनेका छन्। यसअघि नेपाली फुटबल टोलीका कप्तान किरण चेम्जोङले पनि बानेश्वरमा चिया पसल सञ्चालनमा ल्याइसकेका छन्।