काठमाडौँ । सारेगमप लिटिल च्याम्प्स सिजन २ का विजेताले पुरस्कार स्वरूप इभी कार पाउने भएका छन् । यसका लागि नोबडी प्रोडक्सन र एलआरआर मोटर्स कम्पनीबीच सहकार्य भएको छ ।
नेपाली किड्स रियालिटी शोको इतिहासमै पहिलोपटक विजेताले कार जित्ने भएका हुन् । यसबाट एउटा नेपाली परिवारको ‘आफ्नै कार’ को सपनालाई बाल–प्रतिभाको माध्यमबाट साकार पार्ने विश्वास लिइएको छ । विजेता बालप्रतिभाले आफ्ना आमाबुवालाई नयाँ कार उपहार दिन पाउने यो अदभूत पल आमाबुवाको बलियो साथ र समर्पणप्रतिको सच्चा सम्मान भएको विश्वास गरिएको छ ।
नोबडी प्रोडक्सनकी प्रोजेक्ट हेड सुरक्षा अधिकारीले कसैको स्वरको सामर्थ्यले परिवारका लागि कार जित्नु निकै नै सुन्दर हुने बताइन् । ‘१५ वर्षमुनिका बालबालिकाहरूमध्ये कसैले जितेको कारमा आमाबुवा घुमिरहेको पल। र, एलआरआर मोटर्स कम्पनीसँगको यो सहकार्यले त्यो पल र यात्रालाई थप सार्थक बनाएको छ । शोका प्रतिभा र उनीहरूको सपनामा विश्वास राख्नु भएकोमा हामी आभारी छौँ,’ अधिकारीले भनिन् ।
सिजन २ मा दिप श्रेष्ठ, सुवानी मोक्तान र स्वप्न सुमनजस्ता निर्णायकहरू तथा दस सदस्यीय ग्रान्ड ज्युरी छन् । सुमन कार्कीले होस्ट गरिरहेको यो शोको डिरेक्टर एलिन श्रेष्ठ हुन्। ल्कार्यक्रमको टाइटल प्रायोजन वर्ल्डलिंकले गरेको छ।
प्रतिक्रिया