काठमाडौं । माओवादी संयोजक पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जेनजी आन्दोलनअघि प्रचण्ड निवासबाट दुई करोड नगद र दुई ट्रक सामान निकालेको पुष्टि गर्न चुनौती दिएको छ ।
जेनजी आन्दोलनका बेला भदौ २३ र २४ गतेअघि प्रचण्ड निवास खुमलटारबाट दुई करोड नगद र सामान निकालेको मिडिया र सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रचण्डको निजी सचिवालयले आइतबार त्यसको खण्डन गर्दै पुष्टि गर्न चुनौती दिएको हो । प्रचण्डको निजी सचिवालयका संयोजक गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै प्रचण्ड र उनका परिवारका सदस्यहरूलाई लक्षित गरी प्रकाशित÷प्रसारित समाचार तथा सामग्रीहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘हाम्रो संविधानको विचार तथा अभिव्यक्ति स्वतन्त्रता सम्वन्धी प्रावधान, यससँग सम्वन्धित कानून र पत्रकार आचारसंहिता अनुसार कुनै पनि सामग्री प्रवाह गर्दा अरुमाथि गालीगलौज, चरित्रहत्या र मानहानी गर्न बन्देज गरिएको छ । त्यसैगरी कुनै पनि संचार माध्यममा समाचार प्रवाह गर्दा सूचनाको सत्यता, स्रोतको विश्वसनीयता र सम्बन्धित पक्षको दृष्टिकोण सुनिश्चित गर्नु प्रत्येक सञ्चारकर्मीको न्यूनतम दायित्व हो । तर हाम्रो पार्टी र नेतृत्वविरुद्ध प्रवाह भएका पछिल्ला केही सामग्रीहरूमा ती सबै कानूनी र नैतिक मापदण्डहरुको अवमूल्यन गरी एकतर्फी ढंगले पूर्वाग्रही, उत्तेजनापूर्ण, प्रायोजित र असत्य विवरणहरू प्रस्तुत गरिएको स्पष्ट देखिन्छ । जुन गम्भीर तथा आपत्तिजनक छ,’ विज्ञप्तिमा भनिएको छ ।
पूर्वएआइजी देवेन्द्र सुवेदीले एक युट्युब च्यानलमा प्रचण्डको निवासबारे अभिव्यक्ति दिएका थिए । त्यसैलाई आधार बनाएर मिडिया र सामाजिक सञ्जालमा समाचार र भिडियोका क्लिप भाइरल बनाइएको छ । ‘हामी सम्बन्धित सञ्चार माध्यमहरूलाई संयोजक प्रचण्डको निवासबाट जेनजी आन्दोलनपूर्व दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने जस्ता निराधार आरोप तथा गंगा दाहालको घरमा आठजना सुरक्षाकर्मी खटाइएको दाबीको सत्यता प्रमाणित गर्न चुनौती दिन्छौं,’ विज्ञप्तिमा भनिएको छ।














प्रतिक्रिया