निकै मार्मिक छ ‘परान’ को पोएटिक टिजर, छोराबाट आशावादी बाबु


काठमाडौँ । आगामी कात्तिक १४ गते रिलिज हुने चलचित्र ‘परान’ काव्यिक टिजर सार्वजनिक भएको छ । टिजरमा कवि नवराज पराजुलीको शब्द उनकै आवाजमा प्रस्तुत गरिएको छ।

कवि पराजुलीका शब्दहरूमा चलचित्रका मुख्य कलाकार निर शाहको मनोभावनालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ। जीवनको उत्तराद्र्धमा रहेका एक बाबुले छोरासँग अन्त्यसम्म साथ पाइयोस् भन्ने आशा व्यक्त गरेको देख्न पाइन्छ ।

कवितामा छोरालाई ईश्वरले दिएको उपहार मान्दै छोरालाई जसरी हुर्काइयो बढाइयो एउटा बाबुलाई पनि छोराले जीवनको अन्तिम समयसम्म सोही प्रकारले साथ दिनुपर्ने कुरा व्यक्त भएको छ ।

कवि पराजुलीले सो मनोभावनालाई निम्न प्रकारले उधिनेका छन्।

जलाउनुअघि काँटीले आफ्नो सलाई छोड्दैन
यो मेरो छोरो परान हो मेरो मलाई छोड्दैन।
चराले गुँड छोड्दैमा रुख ढल्छ कि ढल्दैन
जाँच्नको लागि छोराले मलाई लडाइ छोड्दैन।
यो मेरो छोरो परान हो मेरो मलाई छोड्दैन
ईश्वरले जिम्मा दिएको छोरो जन्माए हुर्काए
छोरोले मलाई ईश्वरको जिम्मा नलाई छोड्दैन
यो मेरो छोरो परान हो मेरो मलाई छोड्दैन ।

टिजरमा निर शाहसँगै मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, बुद्धि तामाङ, प्रवीण खतिवडा, पूजा चन्द तथा अन्जना बराइलीलगायतका कलाकारहरुलाई पनि प्रस्तुत गरिएको छ । पोएटिक टिजरले दर्शकहरूलाई चलचित्रको विषयवस्तुका बारेमा समेत जानकारी दिएको छ।

टिजरले चलचित्रमा बाबुछोराको सम्बन्ध र त्यसको सामाजिक हैसियत तथा स्थिति परिस्थितिले उत्पन्न हुने ती सम्बन्धका उकाली ओरालीको कथा पेस गर्ने देखाएको छ । टिजरबाट ‘परान’ पारिवारिक चलचित्र बनेको बुझ्न सकिन्छ।

हास्य टेलिसिरियल ‘सक्किगो नि’ फेम दीपकप्रसाद आचार्य (काकु) निर्देशित चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायत कलाकारको अभिनय छ।

रिदम कँडेलको संगीत रहेको चलचित्रका गीतमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमाललगायतले स्वर दिएका छन्। शिवराम श्रेष्ठको डिओपी रहेको फिल्म मित्र डि गुरूङले सम्पादन गरेका हुन्।

देशकै प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले निर्माण गरेको हो।