काठमाडौं – भाइटिकाको दिन (कार्तिक ६ गते) रिलिज हुने प्रतीक्षित चलचित्र ‘सोल्टिनी’ ले आफ्नो नयाँ लिरिकल गीत ‘नौलाख तारा’ सार्वजनिक गरेको छ।
गीतमा झुमा लिम्बु, सुनिता थेगिम र प्रशान्त सिवाकोटीको आवाज रहेको छ। शब्द र सङ्गीत प्रशान्त सिवाकोटीकै, र सङ्गीत संयोजन देवेश राईले गरेका हुन्।
‘नौलाख तारा’ ले चलचित्रको भावनात्मक कथावस्तुलाई सुन्दर ढङ्गले प्रस्तुत गरेको छ। गीतका भिजुअल र तस्बिरहरूले प्रकाश सपुत र परीक्षा लिम्बुबीचको प्रेममा आएका पारिवारिक र सामाजिक अड्चनहरूलाई मन छुने ढङ्गमा देखाउँछन्।
लिरिकल भिडियोमा ती भावनात्मक उतार–चढाव स्पष्ट महसुस गर्न सकिन्छ, जसले चलचित्रको गहिरो सन्देश प्रष्ट पार्छ।
फिल्मलाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन्। मुख्य भूमिकामा प्रकाश सपुत, परीक्षा लिम्बु, सुन्दर धिताल, सब्बु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आले छन्। यस चलचित्रमा धरानका मेयर हर्क साम्पाङ नेतृत्वको ‘हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’ कार्यकारी निर्माताको रूपमा संलग्न रहेको छ।
‘सोल्टिनी’ को छायाङ्कन इलाम, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय स्थलमा गरिएको हो l निर्देशक सुवेदीका अनुसार यो चलचित्रले जातीय भेदभाव, अमानवीयता र प्रेममा आउने सामाजिक अड्चनहरूविरुद्धको आवाज बुलन्द रूपमा उठाउनेछ।














प्रतिक्रिया