काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजे बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकको अध्यक्षता सभापति शेरबहादुर देउवाले गर्ने बताइएको छ । बैठकमा कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश सभापतिहरुको उपस्थिति रहने छ । बैठकमा वर्तमान राजनीतिक परिस्थिति, पार्टीको आगामी रणनीति र जेनजी प्रदर्शन र विध्वंशपछि उत्पन्न चुनौतीहरुबारे छलफल गरिँदै छ ।
जेन–जी आन्दोलनपछि मंगलबार पहिलोपटक कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो । आन्दोलनमा कुटपिटमा परेर घाइते भएका देउवा त्यसयता पार्टी बैठकमा सहभागी भएका छैनन् । मंगलबारको केन्द्रीय समिति बैठकमा भने देउवा उपस्थित हुने देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।
आइतबार बस्ने तय भएको केन्द्रीय कार्यसमिति बैठक एजेन्डामा सहमति नजुटेकै कारण मंगलबारसम्म स्थगित भएको थियो । १४औँ महाधिवेशनको चार वर्षे कार्यकाल मंसिरमा सकिँदै छ । तर, विधानमा एक वर्ष म्याद थप्न पाइने व्यवस्था छ । संस्थापनपक्ष यसैका आधारमा महाधिवेशन लम्ब्याउने दाउमा छ । कांग्रेस नेताहरूका अनुसार संस्थापन पक्ष विधि र प्रक्रिया पूरा गरेर वैशाखमा महाधिवेशन गर्न सकिने पक्षमा छ ।
तर, मंसिरमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्नुपर्ने इतरपक्षको माग छ । संस्थापन पक्षले वैशाख र इतरपक्षले मंसिरमा महाधिवेशन हुनुपर्ने बताएपछि पुस–माघमा मध्यमार्गी समय निर्धारण हुन सक्ने एक नेताले बताए । विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मंसिरमा भए नियमित महाधिवेशनबाटै अगाडि बढ्न सकिने पक्षमा छन् ।
तर, मंसिरमा नियमित महाधिवेशन नहुने स्थितिमा विशेष महाधिवेशनमा जानुपर्ने अडान उनीहरूको छ । नियमित महाधिवेशनमा जाँदा नयाँ प्रतिनिधि चयन गर्नुपर्छ भने विशेष महाधिवेशनमा जाँदा पुरानै प्रतिनिधि हुन्छन् । कांग्रेसमा युवा र वृद्ध नेताबीच नेतृत्वका लागि हानाथाप छ । बुढा नेताहरु युवालाई रोक्ने दाउमा लागेका छन् ।














प्रतिक्रिया