मधेशमा अब कांग्रेस नेतृत्वको सरकार गठन हुने, प्रदेश प्रमुखले दिइन् २४ घन्टाको समय


काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामाको घोषणा गरेपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ । मुख्यमन्त्ती सिंहले दिएको राजीनामा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मंगलबार स्वीकृत गर्दै बुधबार अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरिएको छ । प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ अनुसार नयाँ सरकार गठनका लागि सूचना जारी गरेकी छन् ।

अब मधेशमा कांग्रेस, एमाले र जनमत पार्टीको गठबन्धन सरकार बन्ने भएको छ । यसअघि नयाँ सरकार गठनका लागि तीनै दलले ५८ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख कार्यालयमा बुझाएका थिए । कांग्रेस मधेश संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा नयाँ सरकार गठन हुनेछ ।

बुधबार तीनवटै दल यादवलाई मुख्यमन्त्री बनाउने गरी प्रदेश प्रमुख कार्यालयमा दाबी पत्र बुझाउन जाने भएका छन् । विश्वासको मत लिनुपर्ने समयसीमाको अन्तिम दिन मंगलबार प्रदेश सभामा विश्वासको मत सामना नगरी उनले रोष्टमबाटै राजीनामाको घोषणा गरेका थिए। आफ्नो अन्तिम वक्तव्यको अन्तिममा राजीनामाको घोषणा गरेपछि विश्वासको मत विभाजन गर्न नपर्ने भन्दै सभामुख रामचन्द्र मण्डलले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि प्रदेश सभाको बैठक स्थगित भएको घोषणा गरे।

लिखित वक्तव्य पढेर सुनाएका मुख्यमन्त्री सिंहले राजीनामा मात्र दिएनन्, अध्यक्ष डा. सीके राउत र उनी नेतृत्वको पार्टी जनमतलाई विभिन्न चेतावनी र चुनौती पनि दिए। ‘देशभर तोडफोड र विध्वंश भइरहेका बेला चीनमा रहनुभएका जनमतका अध्यक्ष सीके राउतजीले मलाई राजीनामा दिन निर्देशन दिनुभयो ।

मैले प्रदेश प्रमुखज्यूसमक्ष नै राजीनामा दिने कुरा राख्दा त्यो नगर्न अध्यक्षज्यूको निर्देशन थियो,’ उनले भने । आफू मुख्यमन्त्री बनेकै दिनदेखि जनमत पार्टी मधेशका संसदीय दलका नेता महेश यादव कांग्रेससँग मिलेर षड्यन्त्र सुरु गरेकोदेखि लोकतन्त्रमा जनता भगवान हुनुपर्नेमा कार्यकर्ताबाट आफैँलाई भगवान भन्न लगाएको भन्दै अध्यक्ष राउतको आलोचना गरे।