भन्सार नीतिविरुद्ध सांसद शाहको आपत्ति, सरकारलाई आन्दोलनको चेतावनी


काठमाडौँ l माननीय अभिषेक प्रताप शाह ले सीमावर्ती भन्सार नीतिविरुद्ध कडा आपत्ति जनाउँदै सरकारलाई आन्दोलनको चेतावनी दिएका छन्।

मंगलबार जारी प्रेस विज्ञप्तिमा प्रतिनिधि सभा सदस्य शाहले तराई क्षेत्रका भन्सार नाकाबाट १०० रुपैयाँसम्मका सामान ल्याउँदा समेत शुल्क तिर्नुपर्ने व्यवस्थाले सर्वसाधारण नागरिक मारमा परेको बताएका छन्। उनका अनुसार यस्तो व्यवस्थाले दैनिक उपभोग्य वस्तु किन्ने सीमावर्ती नागरिकलाई अनावश्यक आर्थिक भार र झन्झट थपेको छ।

शाहले ठूला व्यापारीलाई सहज हुने तर सामान्य जनतालाई दुःख दिने नीति भेदभावपूर्ण भएको आरोप लगाउँदै तत्काल सच्याउन सरकारसँग माग गरेका छन्। विश्वव्यापी महँगीको समयमा यस्ता निर्णयले जनजीवन थप कष्टकर बनाएको उनको भनाइ छ।

समस्या छिट्टै समाधान नगरिए तराई–मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरू एकजुट भई सशक्त आन्दोलनमा उत्रिने चेतावनी उनले दिएका छन्। साथै, जनहितविपरीत निर्णयको सडकदेखि सदनसम्म विरोध जारी राख्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।