काठमाडौैं । नेपालको तीन दिने भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर स्वदेश फर्किएका छन्। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक, आर्थिक प्राथमिकता र द्विपक्षीय सम्बन्धमा केन्द्रित भ्रमण पूरा गरेर उनी बुधबार अमेरिका फर्किएका हुन् । काठमाडौँमा रहँदा उनले रास्वपा सभापति रवि लामिछाने, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरेका थिए । साथै, उनले सूचना प्रविधि (आईटी) उद्यमीहरूसँग अन्तरक्रिया गरे।
उनले अर्थमन्त्री वाग्लेसँग व्यापार र लगानीका बारेमा विस्तृत छलफल गरेका थिए । तर सहायक मन्त्री कपुरले प्रधानमन्त्री वालेन्द्र शाह बालेनसँग भेट गरेनन्। यसअघि अमेरिकी अधिकारीहरूले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्रीसँग भेटघाट गर्थे। तर बालेनले अमेरिकी सहायक मन्त्रीसँग भेट गर्न कुनै चासो देखाएनन् ।
बालेनलाई अमेरिकी युथ काउन्सिलको उत्पादन पनि मानिन्छ । बालेनलाई चुनाव जिताउन र रास्वपाको निर्वाचन प्रचारप्रसारमा अमेरिकी युथ काउन्सिल खुलेआम मैदानमा उत्रिएको सबैले थाहा पाएकै हुन् । यस्तै, बार्बरा फाउन्डेसनसमेत रास्वपाको चुनावी क्याम्पेर बनेको थियो । यी सबैको प्रयत्नका बाबजुद रास्वपाले झन्डै दुई तिहाइ मत पायो ।
र, बलियो सरकार पनि बनायो । तैपनि अमेरिकी सहायक मन्त्री कपुरलाई बालेनले भेटघाटको प्राथमिकतामा नराख्नुलाई अर्थपूर्ण मानिएको छ । आफूलाई अमेरिकी लबीभन्दा बाहिर देखाउन बालेनले यस्तो रणनीति चालेको अनुमान गरिएको छ । मन्त्री कपुरले अमेरिकी लगानी शिखर सम्मेलन प्रतिनिधिमण्डलसँग पनि भेट गरेका थ्रिए ।
अमेरिकी दूतावासले कपुरको नेपाल भ्रमण नेपाल–अमेरिका सम्बन्धलाई सुदृढ पार्न फलदायी भएको बताएको छ। ‘नेपालको उदीयमान र गतिशील प्रविधि क्षेत्रमा थप सहकार्यका अवसरहरू अन्वेषण गर्न कपुरले अमेरिकी र नेपाली निजी क्षेत्रका साझेदारहरूलाई एकसाथ ल्याएको छ,’ दूतावासले भनेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबर २०२५ मा दक्षिण तथा मध्य एसियाका लागि सहायक विदेशमन्त्री डोनाल्ड लुलाई हटाएर कपुरलाई नियुक्त गरेका थिए। भारतको नयाँ दिल्लीमा जन्मिएका कपुर दक्षिण एसियाली मामिलाको वास्तविकता र त्यसको विश्लेषण गर्ने क्षमता भएका अमेरिकी सहायक विदेशमन्त्री हुन्। उनी बालेन शाहको नेतृत्वमा सरकार गठन भएपछि नेपाल भ्रमण गर्ने वरिष्ठ अमेरिकी अधिकारी हुन्।






प्रतिक्रिया