काठमाडौं महानगरपालिका वडा २२ महोत्सव भव्यताका साथ सम्पन्न


काठमाडौं l काठमाडौं महानगरपालिका वडा नं. २२ मा आयोजित महोत्सव भव्यताका साथ सम्पन्न भएको छ। जेठ २ गते आयोजना गरिएको महोत्सवलाई यस वर्ष राजधानीकै ठूलो सांस्कृतिक तथा व्यावसायिक उत्सवका रूपमा प्रस्तुत गरिएको छ। व्यापारिक तथा सांस्कृतिक केन्द्रका रूपमा परिचित यस क्षेत्रमा आयोजित महोत्सवले स्थानीय कला, संस्कृति तथा व्यवसायलाई विशेष प्राथमिकता दिएको थियो।

महोत्सव अवधिभर न्युरोड, टेवहाल, सुन्धारा, खिचापोखरी तथा गणवहाल क्षेत्रमा विशेष चहलपहल देखिएको थियो। कार्यक्रमको सुरुवात बिहान ७:३० बजे क्यान्सर रोग रोकथामसम्बन्धी जनचेतनामूलक ‘वाकाथन’बाट गरिएको थियो।

दिनभर सञ्चालन भएका कार्यक्रममा सांस्कृतिक झाँकी प्रदर्शन, परम्परागत नेवारी खानाका स्टल, हस्तकला प्रदर्शनी, रक्तदान कार्यक्रम, पुस्तक प्रदर्शनी तथा ऐतिहासिक तस्बिरहरूको प्रदर्शनी समावेश गरिएको थियो।

काठमाडौं महानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष चिनीकाजी महर्जन ले महोत्सवमा अपेक्षाभन्दा बढी जनसहभागिता देखिएको उल्लेख गर्दै कार्यक्रमले स्थानीय संस्कृति, व्यवसाय तथा सामाजिक एकतालाई थप मजबुत बनाएको विश्वास व्यक्त गर्नुभएको छ।

आयोजकका अनुसार महोत्सवको मुख्य उद्देश्य स्थानीय संस्कृति संरक्षण, पर्यटन प्रवर्द्धन तथा व्यावसायिक गतिविधिलाई प्रोत्साहन गर्नु रहेको छ। स्थानीय कला, संस्कृति र व्यवसाय प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजना गरिएको महोत्सव उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ।