अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउस नजिक गोलीकाण्ड भएको छ। शनिबार साँझ सुरक्षा चेकपोस्ट नजिक एक बन्दुकधारीले गोली चलाएपछि सुरक्षा अवस्था केही समय तनावपूर्ण बनेको थियो।
अमेरिकी सिक्रेट सर्भिसका अनुसार एक व्यक्तिले झोलाबाट बन्दुक निकालेर सुरक्षाकर्मीमाथि गोली प्रहार गरेका थिए। त्यसपछि सुरक्षाकर्मीले जवाफी फायर गर्दै आक्रमणकारीलाई नियन्त्रणमा लिएका थिए।
घटनापछि गोली लागेका ती व्यक्तिलाई अस्पताल लगिए पनि उपचारका क्रममा उनको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। घटनामा एक सर्वसाधारण व्यक्ति पनि गोली लागेर घाइते भएका छन्। उनको अवस्था भने हालसम्म स्पष्ट भएको छैन।
सुरक्षा अधिकारीहरूका अनुसार आक्रमणकारी मानसिक रूपमा अस्थिर रहेको प्रारम्भिक जानकारी छ र उनलाई यसअघि नै उक्त क्षेत्रबाट टाढा रहन चेतावनी दिइएको थियो।
घटनामा कुनै पनि सुरक्षाकर्मी घाइते भएका छैनन्। घटना हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमै रहेको बताइएको छ।
साँझ करिब ६:१५ बजे ह्वाइट हाउस वरपर लगातार गोलीको आवाज सुनिएपछि पत्रकार तथा सञ्चारकर्मीलाई तत्काल सुरक्षित स्थानमा जान निर्देशन दिइएको थियो। करिब ६:५० बजे सुरक्षा ‘लकडाउन’ हटाइएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।
















प्रतिक्रिया