भारतमा सर्वोच्च अदालतका प्रधान न्यायाधीश Sanjiv Khanna ले युवाहरूलाई लिएर दिएको टिप्पणीपछि चर्चामा आएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) सम्बन्धी विवाद थप चर्किएको छ। पार्टीको आधिकारिक वेबसाइट पनि बन्द गरिएको छ।
यसअघि नै पार्टीको एक्स (ट्विटर) ह्यान्डल भारतमा प्रतिबन्धित गरिएको थियो। पार्टीका संस्थापक अभिजीत दीपकेले आफ्नो इन्स्टाग्राम अकाउन्ट पनि ह्याक गरिएको दाबी गरेका छन्। उनले वेबसाइट ‘cockroachjantaparty.org’ बन्द गर्नु तानाशाहीको उदाहरण भएको टिप्पणी गरेका छन्।
दीपकेका अनुसार वेबसाइटमार्फत करिब १० लाखभन्दा बढी व्यक्तिले दर्ता गरेका थिए भने झन्डै ६ लाखले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै नीट पेपर लिक प्रकरणमा असफलता देखिएको आरोप लगाएका थिए।
दीपकेले सामाजिक सञ्जालमा लेख्दै सरकार आलोचनाबाट डराएको दाबी गरेका छन् र आफूहरू नयाँ प्लेटफर्ममार्फत काम जारी राख्ने बताएका छन्।
प्रहरीका अनुसार दीपकेको घरबाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ। उनी अहिले अमेरिकामा अध्ययनरत रहेको बताइएको छ।
यसअघि उनले आफूलाई ज्यान मार्ने धम्की आएको दाबी गर्दै त्यसका स्क्रिनसट पनि सार्वजनिक गरेका थिए। घटनालाई लिएर स्थानीय प्रशासनले उनको सुरक्षाका लागि निगरानी बढाएको जनाएको छ।
सीजेपीको वेबसाइट, इन्स्टाग्राम र एक्स अकाउन्ट बन्द भएपछि समर्थकहरूले विरोध प्रदर्शन गर्ने चेतावनी दिएका थिए। तर संस्थापक दीपकेले आफ्ना समर्थकलाई शान्त रहन र कुनै पनि प्रदर्शन वा गतिविधिमा संलग्न नहुन आग्रह गरेका छन्।
उनले भनेका छन्, “यो ठूलो लडाइँ हो, त्यसैले हामी संयमित र सचेत रहनुपर्छ।”
















प्रतिक्रिया