होर्मुज जलडमरूमध्यमा जहाज आवतजावत बढ्दै, विश्व ऊर्जा आपूर्तिमा राहतको संकेत


तेहरान । हर्मुजको जलडमरू हुँदै व्यावसायिक जहाजहरूको आवतजावत क्रमशः बढ्न थालेको छ। समुद्री यातायात निगरानी गर्ने संस्था मरीन ट्राफिकका अनुसार पछिल्लो २४ घण्टामा कम्तीमा २४ वटा व्यावसायिक जहाजले उक्त मार्ग पार गरेका छन्।

तीमध्ये आठ तेल ट्यांकर र दुई मालवाहक जहाज फारसी खाडीबाट बाहिरिएका छन् भने आठ तेल ट्यांकर र छ मालवाहक जहाज खाडीभित्र प्रवेश गरेका छन्।

विश्लेषकहरूका अनुसार यो संख्या पछिल्ला महिनाहरूमा देखिएको न्यून जहाज आवतजावतको तुलनामा उल्लेखनीय सुधार हो। युद्ध र क्षेत्रीय तनावका कारण जहाज सञ्चालन प्रभावित हुँदै आएको थियो।

हालैसम्म होर्मुज क्षेत्रमा जहाजहरूको नेभिगेसन प्रणालीमा ‘जीपीएस स्पुफिङ’ अर्थात् कृत्रिम रूपमा गलत स्थान संकेत पठाउने गतिविधि व्यापक रूपमा देखिएको थियो। यसले जहाजको वास्तविक अवस्थिति पहिचान गर्न कठिनाइ सिर्जना गर्दै समुद्री सुरक्षा र यातायात व्यवस्थापनमा चुनौती थपेको थियो। तर पछिल्ला दिनमा यस्तो हस्तक्षेप घट्दै गएको देखिएको छ।

विश्व ऊर्जा आपूर्तिको दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलडमरूमध्यमार्फत विश्वभर खपत हुने करिब २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास ढुवानी हुने गर्छ। त्यसैले यस क्षेत्रमा जहाज आवतजावत सामान्य बन्दै जानु अन्तर्राष्ट्रिय ऊर्जा बजार र व्यापारका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ।