पाराग्वेको ऐतिहासिक जित, चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरियो


काठमाडौं । चार पटकको विश्वविजेता जर्मनीको फिफा विश्वकप २०२६ यात्रा अन्तिम ३२ बाटै समाप्त भएको छ। अमेरिकाको बोस्टनमा आज बिहान सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा पाराग्वेले पेनाल्टी सुटआउटमा ४–३ ले जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।

निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। यो जारी विश्वकपमा पेनाल्टी सुटआउटबाट टुंगिएको पहिलो खेल पनि बनेको छ।

सुरुवाती पाँच–पाँच पेनाल्टी प्रहारमा दुवै टोलीका गोलकिपरले दुई–दुई प्रहार बचाएपछि स्कोर ३–३ को बराबरीमा पुगेको थियो। त्यसपछि जर्मनीका जोनाथन ताहको छैटौं पेनाल्टी पोस्टमाथिबाट बाहिरिएपछि पाराग्वेका जोसे क्यानालेले निर्णायक पेनाल्टी गोलमा परिणत गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए।

यसअघि खेलको ४२औं मिनेटमा जुलियो इनसिसोले गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए। जर्मनीका काई हाभार्ट्जले ५४औं मिनेटमा बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।

यो जितसँगै पाराग्वेले अन्तिम १६ मा स्थान बनाएको छ। अब उसले फ्रान्स र स्वीडेनबीचको विजेतासँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।