मेसीको नाममा थपियो अर्को इतिहास, विश्वकपमा सर्वाधिक ९ असिस्ट


अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपमा अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन्। इजिप्टविरुद्धको प्रि–क्वार्टरफाइनल खेलमा असिस्ट गरेसँगै उनले एकै पटक दुई महत्वपूर्ण कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।

उक्त असिस्टसँगै मेसी विश्वकप इतिहासमा सर्वाधिक ९ असिस्ट गर्ने खेलाडी बनेका छन्। यसअघि अर्जेन्टिनाका महान् खेलाडी डिएगो म्याराडोनासँग संयुक्त रूपमा ८ असिस्टको कीर्तिमान बनाएका मेसीले अब उक्त रेकर्ड एकल रूपमा आफ्नो नाममा सुरक्षित गरेका छन्।

त्यस्तै, मेसी लगातार ६ वटा विश्वकपमा असिस्ट गर्ने पहिलो खेलाडी समेत बनेका छन्। सन् २००६ मा विश्वकपमा डेब्यु गरेका उनले त्यसयता खेलेका सबै ६ संस्करणमा कम्तीमा एक असिस्ट गरेका छन्।

जारी विश्वकपमा आफ्नो पहिलो असिस्टसँगै मेसीले यी दुई ऐतिहासिक उपलब्धि हासिल गरेका हुन्। यसअघि पनि उनले विश्वकपका थुप्रै कीर्तिमान आफ्नो नाममा लेखाइसकेका छन्।

इजिप्टविरुद्ध अर्जेन्टिनाको ३–२ को पुनरागमन जितमा एक गोल समेत गरेका मेसीले लगातार खेलमा गोल गर्ने आफ्नो कीर्तिमानलाई थप मजबुत बनाएका छन्। उनले यस विश्वकपमा खेलेका सबै पाँच खेलमा गोल गरेका छन्। साथै, विश्वकपमा लगातार ९ खेलमा गोल गर्ने एकमात्र खेलाडीका रूपमा पनि उनी स्थापित भएका छन्।

मेसी विश्वकप इतिहासमा सर्वाधिक खेल खेल्ने, सर्वाधिक गोल गर्ने तथा सर्वाधिक संस्करण (६ वटा) विश्वकप खेल्ने खेलाडीमध्ये एक हुन्। उनले हालसम्म ६ विश्वकपमा कुल ३१ खेल खेलिसकेका छन्। दोस्रो स्थानमा रहेका क्रिस्टियानो रोनाल्डोले २६ खेल खेलेका छन्। मेसी र रोनाल्डो मात्रै ६–६ वटा विश्वकप खेल्ने खेलाडी हुन्।

यसबाहेक, मेसीले विश्वकपको नकआउट चरणमा सर्वाधिक १४ खेल खेल्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान पनि बराबरी गरेका छन्। अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरिसकेको अवस्थामा उनले यो कीर्तिमान तोड्ने सम्भावना बलियो बनेको छ।

जारी विश्वकपमा मेसीले आफ्नो गोल संख्या ८ पुर्‍याएका छन् र सर्वाधिक गोलकर्ताको सूचीमा पुनः शीर्ष स्थानमा उक्लिएका छन्। उनको पछाडि फ्रान्सका कप्तान किलियन एम्बाप्पे र नर्वेका एर्लिङ हालान्ड समान ७ गोलसहित रहेका छन्।

मेसी दुई फरक विश्वकपमा ७ वा सोभन्दा बढी गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन्। उनले सन् २०२२ मा कतारमा अर्जेन्टिनालाई विश्वकप जिताउँदा ७ गोल गरेका थिए भने जारी संस्करणमा ८ गोल पूरा गरिसकेका छन्।

यसका अतिरिक्त, सबैभन्दा बढी उमेरमा ह्याट्रिक गर्ने, विश्वकपको समूह चरणदेखि फाइनलसम्म सबै चरणमा गोल गर्ने, किशोरावस्था, २० र ३० वर्षको दशकमा गोल गर्ने, विश्वकपमा सर्वाधिक मिनेट खेल्ने लगायत दर्जनौँ कीर्तिमान मेसीको नाममा दर्ज छन्।