‘मास्टर्नी’ फिल्मको गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग


काठमाडौं । नेपाल शिक्षक महासंघले चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक गीत ‘म्याथ सिक्ने भए…’ तत्काल बन्द गर्न माग गरेको छ।

महासंघले शुक्रबार जारी गरेको विज्ञप्तिमा गीतमा प्रयोग गरिएका शब्द र भावले महिला शिक्षक, शिक्षक समुदाय तथा शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको जनाएको छ। विज्ञप्तिमा यस्ता सामग्रीले शिक्षकप्रति समाजमा नकारात्मक सन्देश प्रवाह गर्ने भन्दै आपत्ति जनाइएको छ।

महासंघले जनस्तरबाट पनि गीतलाई दुईअर्थी र छाडा भएको भन्दै आलोचना भइरहेको उल्लेख गर्दै दुर्गेश थापाको शब्द, संगीत र स्वर रहेको उक्त गीत चलचित्रमा समेत प्रयोग नगर्न निर्माता तथा सम्बन्धित पक्षलाई सचेत गराएको छ।

साथै, गीतलाई तत्काल सच्याउन वा हटाउन आग्रह गर्दै अन्यथा त्यसबाट सिर्जना हुन सक्ने परिस्थितिको जिम्मेवारी निर्माता र सम्बन्धित कलाकारले नै वहन गर्नुपर्ने चेतावनी पनि दिएको छ।

उता, चलचित्रकी निर्माता तथा अभिनेत्री प्रियंका कार्की ले भने उक्त गीतलाई केवल मनोरञ्जनका रूपमा लिन आग्रह गरेकी छन्। हालसम्म चलचित्र निर्माण पक्षले शिक्षक महासंघको विज्ञप्तिबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।