काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहसँग सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गरेका छन्।
भेटका क्रममा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै ती उपलब्धिलाई संसद्मार्फत जनतासम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै, उनीहरूले आफ्नो निर्वाचन क्षेत्रसँग सम्बन्धित विकास आयोजना तथा स्थानीय समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
सांसदहरूले सुदूरपश्चिमका राजनीतिक अवस्था, विकासका सम्भावना तथा क्षेत्रीय आवश्यकताबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै गेटा विश्वविद्यालय सञ्चालन, धनगढी–खुटिया–दिपायल फास्ट ट्र्याक, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पश्चिम सेती जलविद्युत् आयोजना, विद्युतीकरण, सडक दुर्घटना न्यूनीकरण, तटबन्ध निर्माण तथा कैलाली–कञ्चनपुरका तराई क्षेत्रमा छाडा चौपाया व्यवस्थापन लगायतका विषय उठाएका थिए।
त्यसैगरी, भन्सार व्यवस्थापन, आरक्षपीडितका समस्या, हुलाकी सडक, किसानका लागि धान खरिद–बिक्रीको व्यवस्था तथा दोधारा–चाँदनी क्षेत्रमा नदी कटान नियन्त्रणका विषयमा पनि प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराइएको जनाइएको छ।
भेटमा सांसद ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, ज्ञानेन्द्र महता, जगत जोशी र केपी खनाललगायतको सहभागिता रहेको थियो।



















प्रतिक्रिया