कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा, पुनः सुनुवाइको बाटो खुल्यो


काठमाडौं – सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादमा पुनः सुनुवाइ गर्ने भएको छ।

कांग्रेसका असन्तुष्ट समूहले यसअघिको फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै दिएको निवेदनमा सर्वोच्चले निस्सा हुने आदेश दिएपछि मुद्दा अब सुरुदेखि नै सुनुवाइ हुने भएको हो।

प्रधानन्यायाधीश डा. मनोज शर्मा र न्यायाधीश नित्यानन्द पाण्डेय तथा श्रीकान्त पौडेलको इजलासले पुनरावलोकनको अनुमति दिएको हो। अब तीन सदस्यीय इजलासले यसअघिको फैसला सदर गर्ने वा उल्ट्याउने भन्ने विषयमा पुनः सुनुवाइ गर्नेछ।

यदि अघिल्लो फैसला उल्टिएमा असन्तुष्ट समूहको दाबी स्थापित हुने र विशेष महाधिवेशनले मान्यता नपाउनेछ। तर फैसला सदर भएमा विशेष महाधिवेशनबाट गठित नेतृत्वले वैधानिकता कायम राख्नेछ।

यसअघि न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले वैशाख ४ गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएको थियो भने शेरबहादुर देउवा पक्षको रिट खारेज गरेको थियो।

उक्त फैसला पुनरावलोकनको माग गर्दै देउवा पक्षले साउन ७ गते सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको थियो।