‘सरकारको नियतमा शंका छैन, तर सञ्चालनको ढंग पुगेन- रास्वपा सांसद मनिष झाको टिप्पणी


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारको नियत र इमानदारीमाथि प्रश्न नभए पनि सरकार सञ्चालनको शैलीमा सुधार आवश्यक रहेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वर्तमान सरकारको इन्टेग्रिटी (इमानदारी) र इन्टेन्सन (नियत) माथि कुनै शंका नरहेको उल्लेख गर्दै कार्यशैली भने प्रभावकारी हुन नसकेको टिप्पणी गरे।

“अहिलेको कुरामा इन्टिग्रिटीको प्रश्न छैन, इन्टेन्सनमा पनि प्रश्न छैन। तर कताकता ढंग नपुगेको हो कि भन्ने लाग्छ, र त्यो स्वीकार्नुपर्छ, उनले भने।

झाले लोकतान्त्रिक राज्यलाई बलियो बनाउन राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वास मुख्य मन्त्र हुनुपर्ने धारणा राखे। राज्य सञ्चालनका सबै निर्णय यही आधारमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

सरकारलाई आत्मसमीक्षा गर्न सुझाव दिँदै उनले कम ज्ञान भएका व्यक्तिले आफ्नै क्षमतालाई बढी आँक्ने प्रवृत्तिबारे पनि संकेत गरे। उनले अंग्रेजी भनाइ उद्धृत गर्दै “आफूलाई के थाहा छैन भन्ने कुरा थाहा नहुँदा वास्तविक समस्या सुरु हुन्छ” भन्ने सन्देश दिए।

त्यस्तै, उनले गुगलका सीईओको भनाइ स्मरण गर्दै “जुन दिन आफूलाई सबै कुरा सिकिसकेँ भन्ने लाग्छ, त्यो दिन विकास रोकिन्छ” भन्ने सन्देश सरकारका लागि पनि सान्दर्भिक रहेको बताए।

सांसद झाले शिक्षा, राजनीति, लोकतन्त्र र सामाजिक न्याय एकअर्कासँग जोडिएको उल्लेख गर्दै शिक्षित समाजबिनाको लोकतन्त्र दिगो हुन नसक्ने धारणा राखे।

मधेशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले “आगो निभेको हो, दाउरा निभेको छैन” भन्दै समस्याको जड अझै बाँकी रहेको बताए। उनले सीमावर्ती क्षेत्रमा गरिब नागरिकमाथि हुने व्यवहार र विमानस्थलबाट आउने धनी यात्रुप्रति हुने व्यवहारबीचको असमानतामाथि पनि प्रश्न उठाए।

“एयरपोर्टमा ब्लु लेबल र ल्यापटप ल्याउन पाइन्छ, तर सीमामा २५ रुपैयाँको चिप्स किन खोसिन्छ? उनले प्रश्न गरे।

निजी क्षेत्र अहिले असुरक्षित महसुस गरिरहेको उल्लेख गर्दै उनले प्रहरी देख्दा सुरक्षित महसुस गर्नुपर्ने नागरिक उल्टै त्रसित हुने अवस्था सिर्जना भएको बताए। निजी क्षेत्रलाई लगानी गर्ने आत्मविश्वास दिन सरकारसँग आग्रह गर्दै उनले अर्थ मन्त्रालयका प्रयास कागजमै सीमित भएको टिप्पणी गरे।

“निजी क्षेत्रलाई आत्मविश्वास दिनुस्। बैंकमा रहेको पैसा लगानी गर्ने वातावरण बनाइदिनुस्। अर्थ मन्त्रालयका प्रयास कागजमा देखिएका छन्, व्यवहारमा देखिएका छैनन्,” उनले भने।

सांसद झाले राज्य सञ्चालनमा सन्तुलन, समान व्यवहार र व्यवहारिक सुधार आवश्यक रहेको उल्लेख गर्दै त्यसो हुन सके मात्रै समुन्नत विकास सम्भव हुने धारणा व्यक्त गरे।