काठमाडौं – नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चर्किरहेका बेला पार्टीले आज पदाधिकारी बैठक बोलाएको छ। केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न बोलाइएको बैठकमा पार्टीभित्रको विवाद र सर्वोच्च अदालतको पछिल्लो आदेशबारे समेत गम्भीर छलफल हुने भएको छ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार पदाधिकारी बैठक बिहान ११ बजेपछि बस्दैछ। आइतबार बस्ने केन्द्रीय कार्यसमिति बैठकअघि पदाधिकारी बैठकमार्फत छलफलका विषय र एजेन्डा तय गरिनेछ।
संस्थापन इतर समूहले आगामी २९ साउनमा राष्ट्रिय भेला बोलाएपछि कांग्रेसभित्रको विवाद थप पेचिलो बनेको छ। इतर समूहले नेतृत्वले पार्टी एकताका लागि ठोस पहल नगरे नयाँ दल गठनसम्मको विकल्प अघि सार्ने चेतावनी दिँदै आएको थियो।
यहीबीच सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवाद पुनः सुरुदेखि सुनुवाइ गर्ने बाटो खोलेपछि तत्काल पार्टी विभाजनको सम्भावना केही कमजोर भएको देखिएको छ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहितको इजलासले बिहीबार विशेष महाधिवेशनसम्बन्धी विवादमा पुनः सुनुवाइ गर्न आदेश दिएको थियो।
सर्वोच्चको आदेश, इतर समूहको राष्ट्रिय भेला र पार्टीभित्र बढ्दो असन्तुष्टिका बीच आजको पदाधिकारी बैठकलाई कांग्रेसको आन्तरिक संकट व्यवस्थापनका लागि महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ।



















प्रतिक्रिया