काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाहलाई जवाफ दिएका छन्।
प्रधानमन्त्री शाहले शुक्रबार राति सामाजिक सञ्जालमार्फत ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्दै पोस्ट गरेपछि सांसद झाले त्यसको जवाफ दिएका हुन्। झाले परिवर्तनका लागि महान् जनादेश पाएको सरकारमा कोही पनि एक्लो नभएको बताएका छन्।
प्रधानमन्त्री शाहले आफ्नो पोस्टमा सही समय आउन केही समय लाग्ने भन्दै नआत्तिन आग्रह गरेका थिए। आफूले सुनेको र देखेकोभन्दा वास्तविकता फरक हुन सक्ने उल्लेख गर्दै उनले कहिलेकाहीँ एक्लै लड्नुपर्ने र यो पहिलो पटक नभएको बताएका थिए।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको सन्दर्भमा सांसद झाले सरकारको नियत र आशयमा आफूहरूको शङ्का नरहेको स्पष्ट पारे। तर, सरकारमा सुधार गर्नुपर्ने केही पक्ष रहेको भन्दै त्यसबारे निरन्तर सचेत गराउने बताएका छन्।
झाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ। हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्।’
उनले यो ऐतिहासिक अवसर खेर जान नदिन आफूहरू सजग रहने र सरकारलाई सचेत गराउने काम निरन्तर जारी राख्ने बताएका छन्।
‘जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु। यहाँ कोही एक्लो छैन,’ झाले भनेका छन्।




















प्रतिक्रिया