देउवा साउन २८ गते स्वदेश फर्किँदै, विमानस्थलमै स्वागत कार्यक्रम


काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २८ गते स्वदेश फर्किने भएका छन्। यसअघि साउन २६ गते नै काठमाडौं फर्किने भनिए पनि समय परिवर्तन भएको नेता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्।

महतका अनुसार साउन २६ गते फर्किँदा रातिको समय पर्ने भएकाले नेता तथा कार्यकर्ताको आग्रहमा देउवाको फर्किने मिति परिवर्तन गरिएको हो।

उनले भने, “२६ गते आउँदा राति हुने भयो, त्यसैले नेता कार्यकर्ताको मागबमोजिम हामीले समय परिवर्तन गर्न भनेका हौँ। अब उहाँ २८ गते दिउँसो १२ः२५ बजे काठमाडौं उत्रिनुहुनेछ।”

देउवा स्वदेश फर्किएपछि विमानस्थलमै स्वागत कार्यक्रम आयोजना गरिने महतले बताए। स्वागतका लागि नेता तथा कार्यकर्तालाई विमानस्थलमा उपस्थित हुन आह्वान गरिएको उनको भनाइ छ।

महतले भने, “हामी स्वागत गर्नका लागि विमानस्थलमा जान्छौँ। त्यहीअनुसार नेता कार्यकर्तालाई आह्वान गरेका छौँ।”